शेयर बजारमा हरियाली, नेप्से उच्च अङ्कले वृद्धि
साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.४८ अङ्कले उकालो लागेर एक हजार ९८०.९ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अङ्कले उकालो लागेर ३७०.५२ अङ्कमा पुगेको छ।
कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नेप्सेका अनुसार कुल ९५ लाख २८ हजार २५५ कित्ता शेयर रु.तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ मा कारोबार भएका छन्। आइतबारको कारोबारपछि बजार पूँजीकरण रु.२८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६९१ बराबर पुगेको छ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ। कम्पनीको रु.११ करोड ४७ लाख २४ हजार ५१८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस्तै, शिवम् सिमेन्ट रु.१० करोड ८७ लाख ७५ हजार ५१५, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु.१० करोड ६८ लाख ५० हजार ६३१, नेपाल दूरसञ्चार कम्पनी रु.आठ करोड १२ लाख ६४ हजार ९५४ र नेपाल पुनर्बीमा कम्पनी रु.सात करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन्।
नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ। गुह्यश्वरी मर्चेन्ट ब्यांक ८.७०, रिलायन्स फाइनान्स ८.३६ र सिटिजन इन्भेस्ट ट्रस्टका लगानीकर्ताले ८.३१ प्रतिशतले कमाएका छन्।