दाङमा पनि देखियो दादुरा, १० जना बिरामी
दाङमा पनि १० जनामा दादुराको संक्रमण देखिएको छ।
दाङको बंगलाचुली गाउँपालिका-८ स्थित हंसपुर, नयाँ बस्ती र रानीवास टोलमा दादुराका बिरामी भेटिएका हुन्। नयाँ बस्तीका एकै घरमा पाँच जना सहित १० जनामा दादुरा देखिएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरले जानकारी दिए।
अध्यक्ष मगरका अनुसार ४८ वर्षीय डण्डुराम बुढा, २६ वर्षीय वीरबहादुर बुढा, २६ वर्षीय लेखनाथ बुढा, २४ वर्षीया मनीषा बुढा, २८ वर्षीय छविलाल बुढा, २२ वर्षीय भगी बुढा, १८ वर्षीय चेतमान बुढा र १५ वर्षीया धामिका बुढामा दादुरा देखिएको हो।
यस्तै, रानीवास टोलका ३४ वर्षीय हिमलाल बाँठा र हंसपुर टोलका ४८ वर्षीय मामी गाहालाई दादुराको संक्रमण भएको छ। दादुरा संक्रमित बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उपचारपछि केही घर फर्किसकेको अध्यक्ष पुन मगरले हिमालखबरलाई बताए।
बंगलाचुली गाउँपालिका-८ मा दादुरा संक्रमणको उच्च जोखिम रहेकाले पालिकाका तर्फबाट उच्च सतर्कता अपनाएर दादुरा संक्रमण रोकथामका लागि लागि काम भइरहेको उनको भनाइ छ। अहिले हरेक स्कूलमा दादुराको खोप लगाउने अभियानसँगै दादुराबाट बच्न विशेष सचेतना अभियान समेत चलाउन थालिएको उनले बताए।
यसअघि काठमाडौं र बाँकेमा दादुराको संक्रमण देखिएको थियो। बाँकेमा दादुराको संक्रमणबाट एक जनाको ज्यान समेत गएको थियो।