‘बजेट मन्त्री र पहुँचवालाको क्षेत्र केन्द्रित भयो’
सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेटबीच पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिंदै उनीहरूले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरी बजेटमा समेट्न सुझाव दिएका छन्।
सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नरहेको बताए। सांसद शाहीले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नदेखिएको जिकिर गरे।
उनले भने, “बजेट असन्तुलित छ। नीति तथा कार्यक्रम र बजेटमा तालमेल देखिंदैन। बजेट मन्त्री र पहुँचवालाको क्षेत्रमा बढी वितरण भएको देखिन्छ। यो प्रवृत्ति रोकिनुपर्छ।”
सांसद शाहीले विकास पूर्वाधारमा पछि परेको कर्णाली क्षेत्रमा बजेट कम भएको गुनासो गरे। कर्णालीको विकास र समृद्धिका लागि बजेटले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
सांसद शिशिर खनालले बजेटमा वातावरणीय प्रभाव स्थिर, वनमा सहजीकरण, ‘स्टार्टअप र इन्नोभेसन’ लाई प्राथमिकता, वैदेशिक लगानी भित्र्याउने जस्ता कार्यक्रम समेटिए पनि केही अपुग विषयलाई समेट्न सकेको खण्डमा बजेट प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सांसद खनालले यस वर्षको राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसक्ने देखिएको र अर्थतन्त्र सुधारका प्रभावकारी कार्यक्रम आउन नसकेको उल्लेख गर्दै संघीयता सबलीकरणका लागि बजेटले प्राथमिकता नदिएको बताए। उनले गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय निर्माण, शहरी व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटले ध्यान नदिएको बताए।
सांसद रोशन कार्कीले बजेटमा केही कुरा राम्रा रहे पनि कतिपय कार्यक्रम महत्त्वाकाङक्षी रहेको बताए। सांसद कार्कीले महिला र पछाडि परेका समुदायको उत्थानका लागि बजेटले कार्यक्रम समेट्न नसकेको टिप्पणी गरे।
निर्वाचन क्षेत्र पूर्वाधार बनाउन समानुपातिक सांसदलाई पनि कार्यक्रममा समेट्नुपर्ने सुझाव दिए। उनले कर प्रणाली न्यायोचित नरहेको र विनियोजित कार्यक्रम निर्वाचन क्षेत्रका आधारमा सन्तुलिन नभएको गुनासो गरे।