महोत्तरी र धनुषाका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क मिटर वितरण गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। प्राधिकरणले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बसोबास गर्ने क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरेको हो।
प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्र मार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिंदै आएको छ। विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसार ५–३० एम्पिएर क्षमताको बक्स सहितको ‘सिंगल फेज इनर्जी मिटर’, ‘एमसीबी बक्स’ निःशुल्क पाउनेछन्।
प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन। मिटरको एक हजार ९३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम दुई वटा पोल (करीब १०० मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्क सहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजारदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरेका हुन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकमाझ विद्युत् पुर्याउन विद्युतीकरणको काम चलिरहेको बताए।
“देशमा करीब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, बाँकी स्थानमा बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्नेगरी अन्तिम चरणको यात्रामा छौं,” उनले भने, “यो सँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं।”
उनले पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका कारण निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोग मार्फत हुने विद्युतीय दुर्घटना कम हुने पनि बताए। मधेश प्रदेशमा वैशाखसम्म वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ।
मधेश प्रदेशका आठ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गार्हस्थ्य ग्राहकको संख्या नौ लाख ३४ हजार छ। यसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिक रूपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या दुई लाख छ।