बजेट ‘गेम चेन्ज’ मा होइन, ‘नेम चेन्ज’ मा सीमित भएको छ: विष्णु पौडेल
पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ‘गेम चेन्ज’ नभएर ‘नेम चेन्ज’ मा सीमित भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले कतिपय कार्यक्रम हटाउने र कतिपयको नाम बदल्ने काम मात्रै भएको बताए।
“प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति सुधार कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम, तराईका जिल्ला सदरमुकामको शहरीकरण सम्बन्धी कार्यक्रम, औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम लगायत कैयौं कार्यक्रमलाई या त हटाइएको छ या तिनको क्षमता कटौती गरिएको छ या विकृत तुल्याइएको छ या डाउनसाइज गरिएको छ,” पौडेलले भने, “यसरी बजेट ‘गेम चेन्ज’ मा होइन, कार्यक्रम र आयोजनाहरूको ‘नेम चेन्ज’ कुरामा उद्यत भएर लागेको छ।”
उनले बजेटमा नयाँ कार्यक्रम नआएको बताएका छन्। “बजेटमा कुनै नयाँपन छैन। जे छ, विगतकै कार्यक्रमको निरन्तरता छ। थप केही छ भने नाराको भीड छ। ती नारालाई कार्यान्वयन गर्ने र तदनुरुपको विनियोजन छैन,” पौडेलले भने।
बजेटले शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा नराखेको उनको भनाइ थियो। “बजेटमा थप कार्यक्रम प्रस्ताव भएका छैनन्। शैक्षिक विभेद समाधान गर्ने कार्यक्रम आएको छैन,” पौडेलले भने।
पूर्व अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट छरिएको बताए। पौडेलले भने, “विना अध्ययनका वडा र पालिका तहबाट कार्यान्वयन हुनुपर्ने प्रकृतिका साना साना आयोजना पनि बजेट छरिएको छ।”