टिस्टा बुझाउने ‘गाउँले भाइ’ को नयाँ गीत
टिस्टा कस्तो थियो र कस्तो हुँदै छ भन्ने कुराको एउटा महत्त्वपूर्ण स्रोत ‘गाउँले भाइ’को सङ्गीत र यसभित्रको दुःख हो। गीतका शब्दले टिस्टाका चर्चित विषयलाई उल्लेख गरेका मात्रै छैनन्, बरु प्रतीकात्मक रूपमा छुटेका कथा पनि भनेका छन्।
नेपाली गीतमा पूर्वोत्तर भारतका नेपालीभाषीको दुःख निकै अघिदेखि समेटिन थालेको हो। सन् १९६० मै रेकर्ड गरिएको अम्बर गुरुङको गीत ‘नौलाख तारा उदाए’ यसको ज्वलन्त उदाहरण हो।
आज पनि त्यो समुदायको दुःख उस्तै छ। अनि त्यो दुःखको कथा केलाइरहेको छ- ‘गाउँले भाइ’ ब्यान्डले। गाउँले भाइले आफ्नो नयाँ गीत ‘आन्टीको तातो बगैंचा’ मा टिस्टा नदी छेवैमा बन्दै गरेका संरचना, त्यहाँ काम गर्ने मानिसले एकैछिन फुर्सद पाउँदा लिने आनन्द र वास्तविकताले झस्काएपछि फेरि त्यही कंक्रिटले भत्काउँदै गरेको धर्तीमा फर्किनुपर्ने बाध्यतालाई समेटेको छ।
फरक यति मात्र छ कि हिजो अम्बर गुरुङले ‘घरको माया बिर्सेर किन पो यहाँ आएछौ’ भन्दा उनले ‘घर’ भनेर नेपाललाई सम्बोधन गर्थे। आज गाउँले भाइ नेपाललाई ‘घर’ भनेर सम्बोधन गर्दैन। पूर्वोत्तर भारतका नेपाली समुदायको बदलिंदो पहिचानलाई पनि ‘आन्टीको तातो बगैंचा’ ले उजागर गरेको छ।
नेपाली भाषाका गीत गाउने यो ‘ट्रान्सट्रेडिशनल रक’ ब्यान्डमा कालिम्पोङका विचित ढकाल र उनका भाइ अनुद्वत्त ढकाल, कालिम्पोङकै सिद्धान्त छेत्री र केरलाका जो पानिकर छन्। सन् २०१७ मा भारतको बेंगलुरूमा स्थापना भएको यो ब्यान्डले सन् २०२० मा पहिलो अल्बम जोरो सार्वजनिक गरेको थियो। त्यो अल्बममा उनीहरूले नेपाली शब्दलाई विभिन्न किसिमका सङ्गीतमा ढालेर गाएका थिए। यो ब्यान्डका गीतमा अफ्रिकन, जापानी, कोरियन, पश्चिमा र नेपाली गीसङ्गीतको प्रभाव पाइन्छ।
ब्यान्डले दुई वर्षयता टिस्टा नदीको छेउमा बन्दै गरेका संरचनामा काम गर्ने नेपाली युवाहरूसँग मिलेर सङ्गीत सिर्जना गरिरहेको छ। यो समूहलाई ‘टिस्टा ट्रूपर्स’ नाम दिइएको छ। “पोहोर हामीले एउटा ग्यारेजको मुनि ज्याम गर्ने ठाउँ बनायौं। त्यो ठाउँलाई युवाहरू भेट्ने, सङ्गीत सिर्जना गर्ने र त्यहाँ जे भइरहेको छ त्यसलाई आफ्नो तरीकाले भन्ने मञ्च बनाउने हाम्रो उद्देश्य थियो। टिस्टा ट्रूपर्स भन्ने समूह यसरी जन्मेको हो,” विचितले भने।
टिस्टा ट्रूपर्समा छन्- मेकानिक आशिष, र्याफ्टर अनिल, कारखानामा काम गर्ने मनोज र सवारी चालक सौगात। यिनै चार जना युवा आन्टीको तातो बगैंचाको भिडिओमा पनि देखिन्छन्।
उनीहरू प्रायको घर कालिम्पोङबाट ४० मिनेट टाढा रहेको टिस्टा नदीको क्षेत्रमा छ। त्यहीं यो गीतको भिडिओ छायांकन गरिएको छ। भिडिओको पृष्ठभूमिमा संरचनाहरू निर्माण गर्दै जाँदा प्रकृति कसरी भत्किंदै जान्छ भन्ने देखिन्छ।
“म व्यक्तिगत रूपमा त्यहाँका निर्माण र संरचनाको परिवर्तनलाई लामो समयदेखि याद गरिरहेको छु। बाँध, राजमार्ग, रेलवे जस्ता संरचनाले कसरी त्यहाँ बस्ने मान्छेको जीवनमा प्रभाव पारेको छ भन्ने मेरो मुख्य प्रश्न हो। यी सब कुरालाई प्रायः सञ्चारमाध्यमले बेवास्ता गरेका छन्,” विचितले गीतको भिडिओलाई व्याख्या गर्दै भने, “विकासले कसरी अरू सबथोकलाई निल्छ भन्ने कथा पनि यसमा छ र यी केटाहरूको जीवनमा यी सब अनुभवको कस्तो भावनात्मक स्थान छ भन्ने पनि भिडिओले देखाउँछ।”
विचितका अनुसार भिडिओमा टिस्टा ट्रूपर्सका चार जना सदस्यको कष्टकर दैनिकी र त्यसको बावजूद उनीहरूले गरेको संघर्ष र हाँसखेल देखाइएको छ। पटकथाकार अंगारिका गुहा भिडिओ टिस्टा ट्रूपर्सको जीवनको एक दिन जस्तै भएको बताउँछिन्। “जीवनका ससाना क्षण यसमा छन्। राजमार्गमुनि खोलामा जानु, हावा खानु, एउटा चुरोट लिएर लुक्नु। अन्तिममा एक जनाले फर्केर बाँधलाई हेरेको दृश्य टिस्टा क्षेत्रका सबैले बुझ्छन्। त्यो दृश्यले यहाँ कति परिवर्तन भएको छ भन्ने देखाउँछ,” उनी भन्छन्।
तर, भिडिओमा महिलाको उपस्थिति छैन। “हामीले महिलालाई पनि समेट्न खोजेका थियौं, तर घर, शिक्षा, काम सबै छिचोलेर आउन उनीहरूलाई गाह्रो थियो। एक-दुई जना हामीसँग जोडिए पनि पछि उनीहरूले छोडे। सङ्गीत क्षेत्रमा महिलालाई अवसर कम हुने व्यापक समस्याको यो एउटा उदाहरण हो,” उनको तर्क छ।
टिस्टा बुझ्ने महत्त्वपूर्ण स्रोत
गत वर्ष टिस्टा क्षेत्रकै एक जना साथीले आत्महत्या गरेपछि विचितले ‘यो क्षेत्रका युवामा कस्तो किसिमको दबाब छ र त्यसले कस्तो मनोवैज्ञानिक असर पार्छ भन्ने देखाउन’ गीत सिर्जना गरेका हुन्। सन् १९९० को दशकपछि टिस्टा क्षेत्रमा ठूला संरचना निर्माण र प्रकृतिको विनाश भइरहेको छ। टिस्टा कस्तो थियो र कस्तो हुँदै छ भन्ने कुराको एउटा महत्त्वपूर्ण स्रोत गाउँले भाइको सङ्गीत र यसभित्रको दुःख हो।
गीतका शब्दले पनि टिस्टाका चर्चित विषयलाई उल्लेख गरेका छैनन्। बरु प्रतीकात्मक रूपमा छुटेका कथा भनेका छन्।
आन्टीको तातो बगैंचा
मौरीको तिर्खामा भमरी
फूलको गुल्छोमाः मदिरा
मोहनी, मिठासमा भुलिएछ...।
“आन्टीको तातो बगैंचा त्यस्तो प्रतीकात्मक ठाउँ हो, जहाँ माहुरी आनन्दमा भुलेर रमाउँछ। एउटा त्यस्तो ठाउँ हो जहाँ हामी तिर्खाएर पुग्छौं र आनन्दमा सबथोक भुल्छौं,” विचित भन्छन्, “यो त्यस्तो ठाउँ हो जुन साँच्चै नहुन पनि सक्छ, तर जसको चाहना हाम्रो शरीर र मनले सधैं गर्छ। त्यहाँ हामी केही बेर भुल्न सक्छौं, तर एकछिनपछि हामीलाई वास्तविकताले घचघच्याउँछ र फेरि हामी जुन संसारबाट उम्किन खोजेका थियौं, त्यहीं पुर्याउँछ।”
आनन्दबाट शुरू भएको यो गीत अन्तिममा भने निरीहतामा पुगेर टुङ्गिन्छ।
भाग्यो आफ्नै छाया लिई बटुली
आकाशमा चम्किने ए सितारा
तब थाकेकै शरीर, परी हल न चल
साससितै, अन्धकारमा बिलिएछ...।
“हामीले यहाँ केही गर्न सक्दैनौं, हाम्रो नियन्त्रणमा केही छैन भन्ने जस्तो हामीलाई लाग्छ। यो निरीहताको भावना हामी र हामीपछिको पुस्तामाथि कालो बादल जसरी मडारिरहेको छ,” विचित भन्छन्, “गीतको अन्तिममा पनि आनन्दमा हराएका मानिस फेरि वास्तविकतामा फर्किन्छन्। अनि राति आकाशबाट तारा सबै हराएर अँध्यारो मात्र बाँकी भए जस्तो हुन्छ।”
प्रतिनिधिमूलक सङ्गीत
पहिले ब्रिटिशराजको समयमा पूर्वोत्तर भारतका चियाबगानमा काम गर्ने नेपालीहरू थिचोमिचोमा पर्दा नेपाललाई सम्बोधन गर्दै थुप्रै गीत लेखिए। तिनै गीतहरूले आफू र आफ्ना सिर्जनालाई प्रभावित गरेको, तर ती गीतमा जस्तो कुनै अप्राप्य देशलाई मातृभूमिका रूपमा भने नहेरेको यो ब्यान्डका सदस्य बताउँछन्।
“अपनत्व र प्रवासको बहस सन् १९६० का गायकहरूको समयभन्दा धेरै अगाडि बढिसकेको छ। आज विभिन्न आन्दोलनपछि यो (नेपालीभाषी) समुदाय भारतमा समायोजित भइसकेको छ। हाम्रा लागि घर भनेको पूर्वोत्तर भारत हो। हामी आफूलाई नेपाली मूलका भारतीय भन्न रुचाउँछौं,” विचित थप्छन्।
आज आफू जेजस्तो अवस्थामा छन् त्यसैको प्रतिनिधित्व गर्ने प्रयासस्वरूप सङ्गीत सिर्जना गरिएको उनी बताउँछन्। “श्रमको भावना अझै पनि हाम्रा गीतमा छन्, किनकि त्यो अझै पनि हाम्रो वास्तविकता हो। नेपाली समुदाय अझै पनि चियाबगानमा काम गरिरहेको छ। अहिले विकास निर्माण र पूँजीवादका रूपमा नयाँ उपनिवेशवादीहरू उदाएका छन्। यो क्षेत्रका मानिसका लागि भूमिको स्वामित्व र विस्थापन अझै पनि हल हुन नसकेका समस्या हुन्। हामी ती विषयमा गीत गाइरहेका छौं,” विचित भन्छन्।
नेपालका स्रोताले उनीहरूका गीतका शब्द बुझ्छन् र सँगसँगै गाउँछन् पनि। त्यसैले कहिलेकाहीं नेपाल आउँदा यो ब्यान्डले विशेष अनुभव पनि गर्ने गरेको छ। “यो हाम्रो लागि एकदम सुन्दर अनुभव हो र अब हामी यो सम्बन्धलाई अझ गाढा बनाउने कोशिश गरिरहेका छौं,” विचित भन्छन्।
सन् २०२३ भरि नयाँ गीतहरू सार्वजनिक गरिरहने उनीहरूको लक्ष्य छ।