खडेरीले खेतमै सुके मकै, रोकथाम गर्ने उपाय नै छैन
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्।
खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने वेलामै बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि सुकेको मकैका बोट काटेर किसानले गाईभैंसीलाई घाँसका रूपमा दिन थालेका छन्।
भरतपुर महानगरपालिका–८, गौरीगन्जका नवीन पुरीले १३ कट्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, “घोगा लाग्ने वेला मकैको बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।”
भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले पनि सात कट्ठामा लगाएको मकै सुक्न थालेपछि घाँसका रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन्। ७८ वर्षीया जलपादेवीको सबै परिवार कृषिमा आश्रित छ।
सोही स्थानकी तारादेवी भण्डारीको पनि चार कट्ठाको मकै सुकेको छ। पाइप लगाएर अलि अलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्न समेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।”
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्। उनी भन्छन्, “सिंचाइको सुविधा भएको ठाउँ बाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।”
उनी सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउँछन्। उनका अनुसार मकै मात्र नभई खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको बताए।
चितवनमा २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुने गरेको छ। उत्पादकत्व प्रतिहेक्टर ३.७९ मेट्रिक टन रहेको छ।
चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ-फागुनमा लगाइने ‘वसन्ते’ मकै चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ।
वैशाख–जेठमा गरिने मकै खेती साउन-भदौमा पाक्छ। यसलाई ‘वर्षे मकै’ भनिन्छ। चितवनमा यो मकै नौ हजार ८०० हेक्टरभन्दा बढीमा खेती गरिन्छ।
यस्तै, असोज-कात्तिकमा लगाइने ‘हिउँदे मकै’ चितवनमा १४ हजार ६०० हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ। - रासस