एशिया कपको अन्योल टर्यो, श्रीलंका ‘न्यूट्रल भेन्यू’ हुने
एशिया कपका लागि भारत र पाकिस्तानबीच अहिले सहमति हुनु भनेको २०२३ को एकदिवसीय विश्वकप र सन् २०२५ को च्याम्पियन्स ट्रफीको सम्भावित विवाद समेत साम्य हुनु हो।
एशिया कपको अन्योल समाप्त हुने देखिएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले प्रस्ताव गरेको हाइब्रिड मोडल एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले अनुमोदन गर्न लागेको छ।
पीसीबीले श्रीलंकालाई ‘न्यूट्रल भेन्यू’ का रूपमा प्रस्ताव गरेको छ। अर्थात् कुल १३ मध्ये चार खेल श्रीलंकामा हुनेछन्। यदि भारत फाइनलमा पुगेमा पाँच खेल श्रीलंकामा हुनेछ।
ईएसपीएन क्रिकइन्फोका अनुसार यसबारे औपचारिक घोषणा सप्ताहान्त (आइतबार) पछि हुनेछ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा हुन गइरहेको एशिया कप खेल्न इन्कार गरेको थियो। भारतको उक्त कदमपछि पाकिस्तानले पनि भारतमा हुन गइरहेको विश्वकपमा सहभागिता नजनाउने धम्की दिएको थियो। एशिया कपका लागि भारत र पाकिस्तानबीच अहिले सहमति हुनु भनेको २०२३ को एकदिवसीय विश्वकप र सन् २०२५ को च्याम्पियन्स ट्रफीको सम्भावित विवाद समेत साम्य हुनु हो।
यसपटक विश्वकपको तयारीका लागि भनेर एशिया कप ५० ओभरको खेलिनेछ। समूह ‘ए’ भारत र पाकिस्तानसँगै नेपाल पनि छ। समूह ‘बी’ मा बाङ्लादेश, अफगानिस्तान र श्रीलंका छन्।
एशिया कप सेप्टेम्बर १ देखि १७ सम्म सञ्चालन हुनेछ।