कालीकोटमा जीप दुर्घटना, चालक सहित तीन जनाको मृत्यु
जीप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाने क्रममा दुर्घटना भएको हो।
कालीकोटको शुभकालिका गाउँपालिका–६, गविरामा जीप दुर्घटना भएको छ। गए राति लु१च ८४९८ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान समेत गएको छ।
मृत्यु हुनेमा जीप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले– ३ का २५ वर्षीय गोपाल सलामी मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार जीप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाने क्रममा दुर्घटना भएको हो।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन,” प्रहरी प्रमुख रिमालले भने, “जीपमा सवार तीनै जनाको मृत्यु भएको, घटना देख्ने र अन्य घाइते नभएकाले दुर्घटनाको कारण खुल्न सकेन।” - रासस