विमान दुर्घटनाको ४० दिनपछि अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार
विमान दुर्घटनामा परेर बेपत्ता भएको ४० दिनपछि कोलम्बियाका सुरक्षाकर्मीले अमेजन जङ्गलबाट चार बालबालिकाको जीवितै उद्धार गरेका छन्।
जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाँच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म-मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ। जसको भाग्यमा मृत्यु निर्धारण भएको छ, त्यस प्राणीलाई बचाउन सकिंदैन। अनि जसलाई जीवन जिउने समय दिइएको छ, उसलाई कालले पनि केही गर्न सक्दैन।
कोलम्बियामा यस्तै चमत्कार भएको छ। देशको राष्ट्रिय सेनाले ४० दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ। कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जङ्गलबाट १३, नौ, चार र एक वर्षका बालबालिकालाई गएराति उद्धार गरेका हुन्।
सान होसे डेल ग्वाभियर शहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जङ्गलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो। घटनास्थलमा उनीहरूका शव भेटिएका थिए, तर विमानमा सवार बालबालिका हराइरहेका थिए।
विमान जङ्गलका रूखमा वृक्ष झैं ठडिएको अवस्थामा भेटिएको थियो। अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले १६० जना सिपाही र जङ्गल क्षेत्रको सम्पूर्ण जानकारी भएका ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो। जसले विश्व समुदायको ध्यान आकर्षित गरेको थियो।
हिंस्रक जङ्गली जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन, तर खोजी टोलीले खुट्टाको छाप, एक डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो।
उद्धार टोली बालबालिका भौंतारिन सक्ने र भेट्टाउन अझ गाह्रो हुने चिन्ताले ग्रसित थियो। वायुसेनाले १० हजारभन्दा बढी पर्चा स्पेनिश र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जङ्गलमा फ्याँकेको थियो, जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो।
ती पर्चामा भयावह जङ्गलमा कसरी बाँच्ने भन्नेबारे सुझाव पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए। साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पीकर’ बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए। अन्ततः बालबालिका दुर्घटनास्थलबाट करीब पाँच किलोमिटर पश्चिममा फेला पारेका हुन्।
बेपत्ता बालबालिकामध्ये केही शिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए। साथै उनीहरू जङ्गलसँग राम्ररी परिचित पनि थिए।
राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरूको जीवितै उद्धार गरिएको घोषणा गर्दै भने, “आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौं।”
हेलिकोप्टरबाट उनीहरूको उद्धार गरिएको हो। बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पुर्याइएको छ।
राष्ट्रपतिले ट्वीटरमा सार्वजनिक गरेको तस्वीरमा सैन्य पोशाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एक जना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ। (एएफपी)