समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्।
प्रत्यक्ष निर्वाचितलाई प्रतिनिधि सभामा र समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने व्यवस्था गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देउवाको भनाइ थियो। शनिबार कांग्रेस भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने, “समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधानमा रहेको व्यवस्था परिमार्जन गरेर जानुपर्छ। त्यसका लागि संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्न संसद्मा दुईतिहाइ चाहिन्छ, त्यसमा सबै पार्टी सहमति भए गर्न नसकिने होइन, हामी मात्रै केही गर्न सक्दैनौं।”
कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने उनको भनाइ थियो। संगठनलाई बलियो बनाउने अभियान भक्तपुरबाटै शुरू गरेर सफलता प्राप्त गर्दै देशभर फैलाउन पनि उनले नेता-कार्यकर्तालाई निर्देशन दिए।
कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णयले लोकतन्त्र कमजोर बनेको जिकिर गरे। डा. कोइरालाले भने, “जिल्ला, उच्च र सर्वोच्च अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ, राष्ट्रपतिले यसलाई रोक्नुपर्थ्यो, दण्डहीनतालाई प्रश्रय दिने गरी भएका यस्ता निर्णयलाई जनताले नियालिरहेका छन्।”
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए। डा. कोइरालाले भने, “अहिले निर्वाचन आयोगलाई हामीले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनुपर्छ भनेर भनिराखेका छौं। तर, सरकारले निर्वाचन आयोगलाई सीडीओको मातहतमा लगेर एउटा कोठामा थन्क्याएर राख्न खोज्दै छ, त्यसले लोकतन्त्र बलियो हुन सक्दैन, लोकतन्त्र बलियो हुन निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ।”