देशलाई नै ग्रहण लागेको जस्तो भएको छ: ओली
अर्थतन्त्र सुधार्न कुनै काम गर्न नसक्ने गठबन्धनको सरकार देशलाई नै ग्रहण लागे जस्तो भएको नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले टिप्पणी गरेका छन्।
काठमाडौंमा शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले देशको अवस्था बिग्रँदै गएको जिकिर गरे। आफ्नो नेतृत्वको सरकार ढलेपछि आएको गठबन्धन सरकारले आर्थिक वृद्धिका लागि काम गर्न नसकेको उनको भनाई थियो।
“अहिले त अवस्था राम्रो छैन। देशलाई नै ग्रहण लागेको जस्तो भएको छ,” ओलीले भने, “यी दुई वर्षमा आठ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर दुई प्रतिशत नपुग्ने अवस्था छ। देश नराम्ररी पछाडि परेको छ।”
उनले उत्पादन वृद्धिदर पनि घटेको बताए। “साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर दुई प्रतिशतभन्दा तल आयो,” उनले भने, “अहिले कोभिडको मारले यताउता भनेको होइन।”
गठबन्धन सरकारले काम गर्न नसक्दा युक्रेन युद्धको बहाना बनाएको उनको आरोप थियो। युक्रेन युद्धलाई देखाएर उम्किन नपाइने उनको भनाइ थियो। ओलीले प्रश्न गरे, “युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो कि धुवाँ उडायो? के गरेको छ?”
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण पनि देशका लागि फाइदाजनक नभएको टिप्पणी गरे। देशका नदीनाला भारतलाई सुम्पिने काम भएको उनको आरोप थियो।
तल्लो अरुण र फुकोट कर्णाली आयोजना कौडीको भाउमा भारतलाई दिने काम भएको उनको भनाइ थियो। फुकोट कर्णाली सबैभन्दा सस्तो आयोजना रहेको र आफैंले बनाउने भनेको योजना भारतलाई दिएको ओलीको आरोप थियो।