हराएको डम्फु खोज्ने ‘ओ पेङदोर्जे’
कविताको स्तर र गुणात्मकता घट्दै गएको अहिलेको समयमा ओ पेङदोर्जेले शक्तिशाली उपस्थिति जनाएको छ।
कवि स्याङतानलाई पछ्याउन थालेको निकै भयो। उनका फुटकर कविता पढ्दा मस्तिष्कमा करेन्टको तरङ्ग प्रवाह भए झैं हुन्थ्यो। किनकि, उनका कविताले शासक विरुद्ध प्रतिरोधको झिल्को बाल्थ्यो। यस पटक पनि कवि स्याङ्तानले झिल्का सँगालेर आगोको दावानल बालेका छन्, त्यसको नाम हो- ओ पेङदोर्जे।
५१ कविताको सङ्ग्रहभित्र ६ वटा खण्ड छन्, ‘मजदूरको घोषणापत्र’, ‘आमा तिमी मात’, ‘योद्धा’, ‘अन्तिम प्रेमपत्र’, ‘एकदिन’ र ‘पिपाको कथा’ शीर्षकमा। शुरूको खण्डमा उत्पीडित र सीमान्तीकृतको संवेदना र आक्रोशमिश्रित कविता छन्।
दोस्रो खण्डमा विद्रोह ओकेल्ने कविता छन्। तेस्रो खण्डमा माओवादी सशस्त्र युद्धका उहापोहहरूका कविता छन्। प्रेमका कविताले चौथो खण्ड ओगटेका छन् भने पाँचौं खण्डमा समसामयिक विषयका कविताले स्थान पाएका छन्। अन्तिम खण्डको कविता भने उत्पीडित र दमनमा पारिएका तामाङका व्यथाका फेहरिस्त छन्।
पहिलो खण्डका कवितामा मजदूर र श्रमिकप्रतिको सम्मान भेटिन्छ। उनीहरू विरुद्धको शोषण र दमनको फेहरिस्त पनि छ। नेताहरूले जतिसुकै विकास र समृद्धिको रटान लगाए पनि गरीबी र बेरोजगारीको ग्राफ घटेको छैन। रोजीरोटीका लागि ज्याला मजदूरी गर्ने र वैदेशिक रोजगारीका निम्ति पलायन हुने लाखौं निम्नवर्गीय परिवारको कहानी हृदयविदारक छ। सरकारले उनीहरूलाई उचित संरक्षण गर्न भोट बटुल्न चुनावी भाषण गरे बाहेक अन्य कतै कदम चालेको प्रत्याभूति गर्न सकिन्न।
खासमा शहरका हरेक दरबार, सडक, भवन र कलकारखानामा मजदूरको पसिना, आँसु र रगतको हस्ताक्षर छ। उनीहरू विना देशको अस्तित्वको कुनै कल्पना गर्न सकिन्न। भुइँचालोले क्षतविक्षत बनाएको मर्माहत घाउ पुरिंदा नपुरिंदै कोरोनाको त्रासदीले देशलाई लपेट्यो। भोक, शोक र रोगले त्राहिमाम् कति मजदूर पुल, फूटपाथ, झुपडी र भट्टामै मृत्युवरण गर्न बाध्य बने। कविताले २०७७ जेठ ११ गते कोरोना महामारीका कारण मृत्युवरण गर्न विवश भरिया सूर्यबहादुर तामाङको हृदयविदारक कथा पनि भनेको छ।
तथ्याङ्क हेर्दा देशको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगार र पल्टनबाट आउने पैसाले धानेको अवस्था छ। तर, रेमिटेन्स भित्र्याउने मजदूर अङ्गभङ्ग र घाइते या बाकसमा फर्कनुपर्ने बाध्यता छ। उनीहरूलाई संरक्षणको साटो उल्टै अनदेखा गरिन्छ।
राज्यको यो उपेक्षाको भाष्य र मानसिकताको पछि कुन राजनीतिले काम गरेको छ? कवि स्याङतान ‘दाइ हराएको सूचना’, ‘रेमिटेन्स’, ‘म आइपुगें’ लगायत कविता मार्फत प्रश्न तेर्स्याउँछन्।
युगौंयुगपछि आज
यो सुनसान मसानघाटबाट ब्युँझेर
सोचिरहेछु
मसँग किन छैन
स्वतन्त्रताको एक मुठी सास?
किन बेचिन्छु पुस्तौंपुस्ता?...
दोस्रो खण्डमा प्रतिरोधी चिन्तनका कविता छन्। समानता, न्याय, सुशासन र समावेशिता लोकतन्त्रका सुन्दर पक्ष हुन्। तर, जनतालाई अझै पनि न्याय र एकताको प्रत्याभूति भएको छैन। विभेद र भेदभाव कायम छ। महिला भएकै कारण हिंसाको शिकार र बलात्कृत हुनुपर्ने, तल्लो जात भनिएकै कारण दलितले निषेध र बहिष्करणमा पर्नुपर्ने, मधेशी र मुस्लिम समुदाय फरक भूगोलकै कारण उपहासको पात्र हुनुपर्ने, सीमान्तीकृतहरू अल्पसंख्यक भएकै कारण राजनीतिक प्रतिनिधित्वबाट टाढा हुनुपर्ने अवस्था छ।
दिनहुँजसो काठमाडौंको माइतीघर मण्डलमा सरकार विरुद्ध नाराबाजी गर्नेहरूको भीड देखिन्छ। उनीहरूको आन्दोलनको अन्तर्य भनेकै व्यवस्था विरुद्धको असन्तुष्टि हो। झोक र आक्रोश हो। एकल वर्चस्ववादी कुसंस्कार र रुढता विरुद्ध कवि स्याङतानका कविताले शालीन विद्रोहको शङ्खघोष गरेका छन्। पुरुषसत्ता, जातीय भेदभाव र धार्मिक अन्धवाद विरुद्ध उनका कविताले समतामूलक समाजका लागि लड्न बल दिन्छन्।
आमा तिमी मात
तिमी मातेको मन पर्छ
यो दुनियाँ तिम्रै रगत चुसी
मातिरहेछ आदिमकालदेखि...।
नयाँ विचार र व्यवस्थाको प्रादुर्भाव गर्न हरेक पुराना मान्यता र स्थापत्यहरू भत्काउन जरुरी छ। जहाँनियाँ राणाशासनदेखि अहिलेको जनताको सार्वभौमसत्ताको कालखण्डसम्म आइपुग्दासम्म अनेकौं आन्दोलन र क्रान्ति भए। पुरानो व्यवस्थाको अन्त्यका निम्ति सधैं नयाँ नायक आवश्यक पर्छन्। तर, जब ती नायक पुरानै चरित्र र चिन्तनबाट अभिप्रेरित हुन्छन्, त्यो जतिको राजनीतिक र चेतनाका स्खलन शायदै हुन्छ।
हामीले अपेक्षा गरेका ती नायक पुरानै व्यवस्थाको अंश बनिरहँदा जनताले के अपेक्षा गर्ने? आफू हिंडिरहेको बाटो बिराउँदा जनताले के आश गर्ने? अहिलेको पूँजीवादी व्यवस्थाको हिस्सा बनेका त्यस्ता नायकहरू अनेकौं छन्। जसले हुर्काइरहेछ भ्रष्टाचार, माफियातन्त्र, कालाबजारी र नाफाखोरीका अनेकौं कपटी लहराहरू।
भर्खरै सतहमा आएका नक्कली शरणार्थी प्रकरण र पशुपतिनाथ मन्दिरको जलहरी काण्डले भ्रष्टाचारको विकृत अनुहार उदाङ्गो पारिदियो। धर्मनिरपेक्षताको युद्ध छेडेका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गेरु वस्त्रधारणले धार्मिक अन्धवादको सुषुप्त अवशेष छर्लङ्ग पारिदियो। यी त सतहमा आएका प्रतिनिधि घटना मात्रै हुन्। गुप्त रूपमा रहेका यस्ता अनेकौं घटना खोजीको विषयै बन्लान्।
‘योद्धा’ शीर्षकको खण्डमा प्रायः सशस्त्र द्वन्द्वलाई केन्द्रमा राखेर लेखिएका कविता छन्। बाध्यताले युद्धमा होमिन पुगेका दाजुभाइका कथा, युद्ध लड्दालड्दै जीवन गुमाउनुपरेका कमरेडहरूका समवेदना, घाइते भई अयोग्य लडाकू दरिन पुगेका युवाका पीडा, युद्धले बिछोडिनुपरेका प्रेमीप्रेमिकाका व्यथा र नेतृत्वप्रतिको वितृष्णा यस खण्डका मूल विषय हुन्। परिवर्तनको सपना बोकेर स्वयं सशस्त्र संघर्षमा सहभागी भएका कवि स्याङतान वेलावेला भक्कानिन्छन्, आक्रोशले चिच्याउँछन् कवितामा। उनका ‘छुटेको प्रचण्ड’, ‘कमरेडको एकालाप’, ‘एउटा प्रश्नपत्र’, ‘अधुरो यात्री’ र ‘साङमो’ कवितामा यस्तै आशय पाइन्छन्।
भोकाहरूको अलिखित इतिहासमा
एउटा अध्याय थपियो
छुटेको प्रचण्ड
अघाएकाहरूको लिखित इतिहासमा
अर्को अध्याय थपियो
पुष्पकमल दाहाल...।
अन्तिम प्रेमपत्र र एकदिन खण्डका कविताहरू प्रेम, मिलन, बिछोड, दुःख, पीडा र सपना जस्ता समसामयिक विषयमा केन्द्रित छन्। उनका प्रेम कवितामा पनि प्रतिरोधी चिन्तन पाइन्छ। दमित र शोषीत मानसिकताबाट प्रेरित कविताले वैचारिक रूपमा कविको कित्ता स्पष्ट पारेको छ।
उनले आफ्नो कविता मार्फत प्रगतिशीलताको वकालत गरेका छन्। सामाजिक न्यायको मुद्दा उठाएका छन्। एकात्मकवादी चिन्तन विरुद्ध औंला उठाएका छन्। सीमान्तीकृत र उत्पीडितका संवेदना बाँचेका छन्। जो मूलधारबाट छुटेका छन्, छुटाइएका छन्, इतिहासको पन्नाबाट मेटिएका छन्, मेटाइएका छन्, राज्यको स्रोत र साधनको पहुँचबाट विमुख भएका छन्, बनाइएका छन्, शासक र सत्ताबाट दबाइएका छन्, ती उनका कविताका पात्र हुन्।
त्यस्तै, सत्ताको दोहनमा परेर सर्वस्व गुमाएका आदिवासीका कहानी, परम्परागत राष्ट्रवादको फरमान र उर्दीले निषेधित बहुसङ्ख्यक जनजातिका इतिहास, सत्ताको अधिनायकवादी चरित्रले उपेक्षित भुइँमान्छेका संवेदना कविका केन्द्रीय विषय हुन्। नियति, दुःख, विवशता र प्रारब्धको चक्रले थिलथिलो भएका निर्धो र निरीह गरीबका निम्ति उनका कविताले सास भरिदिन्छन्।
यसरी
बिलाइरहेछन् यो धरतीका कैयौं ताराहरू
अस्ताइरहेछन् यो धरतीका कैयौं जूनहरू
को हो यो
किताबको पानामा सदाबहार बाँचिरहने मान्छे?
अनि कसको हो यो
इतिहासको मूल सडकमा
बाटो छेकेर उभिएको मानिस?
र पिपाको कथा...।
नेपालका आदिवासीमध्ये दोस्रो ठूलो जनसङ्ख्या भएको तामाङ समुदायले भोगेको पीडाका अनगिन्ती उदारहण छन्। राज्यले मासिन्या मतवालीको ट्याग भिराइदिएका कारण तामाङ लेख्न पाउँदैनथे। आफूलाई ‘मुर्मि भोट्या’ भन्नुपर्थ्यो। तामाङ युवाले सेनामा भर्ती हुन गुरुङ या मगर थर लेखाउनुपर्थ्यो। सैन्य प्रशासनमा पनि पिपा गोस्वारामा मात्रै काम पाउँथे।
याम्बु अर्थात काठमाडौंको नजिक रहनुले पनि अरू आदिवासी जनजातिभन्दा तामाङलाई राज्यले बढी नै शोषण गरेको पाइन्छ। त्यसो त काठमाडौं उपत्यकामा तामाङले शासन गरेको इतिहास पाइन्छ। त्यति वेला बाह्र तामाङ, अठार जात भनिने तामाङका राज्यहरू थर र किपट प्रथामा आधारित थिए। गणराज्यमा रहेर शासन गर्ने तामाङलाई छिन्नभिन्न बनाएर राज्यले दमन गर्न शुरू गर्यो। त्यो दमनकारी हस्तक्षेप अझै रोकिएको छैन। गत वर्ष गाई मारेको आरोपमा दक्षिण रसुवाबाट तामाङ पक्राउ गरेको घटना होस् या अपर तामाकोशी जलविद्युत् आयोजना अन्तर्गतको सबस्टेशन राख्न संखरापुर–३ बोझेनीमा जग्गा अतिक्रमण गरेको घटना होस्, त्यसका पछिल्ला उदाहरण हुन्।
जसरी पूर्वका लिम्बुवानका लिम्बूको राज्यसँग भूमिको लडाँइ छ, त्यस्तै तामाङको पनि उत्पीडन र दमनको लडाइँ छ। त्यो लडाइँ भलै कुनै व्यक्तिविशेषभन्दा पनि राज्यसँगको हो। कवि स्याङतान सुनकोशीमा शिर काटिएको रिञ्जेन दोर्जेको टाउको बोकेर याम्बुमा शासकसँग हिसाबकिताब गर्न उभिएका छन्, पिपा र सुसारे पूर्खाको सास बोकेर एक-एक क्षतिपूर्ति उठाउन लागिपरेका छन्, भीमफेदीमा शासकहरूको गाडी बोक्दा रगत छादेका म्हेमेहरूको रगतको मूल्य खोज्न लागिपरेका छन्।
मलाई सालिकमुनि किचेर
मेरो याम्बुमाथि रजाइँ गर्ने
ओ शासकहरू
समयको रथलाई
कहाँ लुकेर तान्दै छौ आफूतिर
सडकमा आऊ...।
कवि स्याङतानका कविताहरू सरल छन्। लयसँगै बग्छन्। उनको आफ्नै ‘क्राफ्ट’ छ, ‘इन्फर्मेटिभ’ शैलीको। शासायद त्यसमा उनको अखबारी फिचर लेखनको पनि प्रभाव परेको होला।
ससाना घटनालाई जोडेर एउटा समग्र कथा भन्छन्। मानवीय संवेदनाको भित्री तहसम्म पुगेर लेख्नु उनको विशेषता हो। आदिवासी सौन्दर्यले सुसज्जित अधिकांश कवितामा आदिवासी ‘अरिजिन’ कै (मूलतः तामाङ संस्कारको) बिम्ब र प्रतीकहरू पाइन्छन्।
भनिन्छ, कविता आफै|तिर फर्केर लेखिने विषय हो। तर, कवि स्याङतानका कविता आफू सँगसँगै समाजतिर नि उत्तिकै फर्किएका छन्।
कविता लेखनका दुई वटा प्रक्रिया हुन्छन्। एउटा स्वतस्फूर्त प्रस्फुटनका रूपमा। अर्को, कुनै विषयप्रति धारणा बनाएर। कवि स्याङतानले दोस्रो प्रकियाबाट लेखेको बुझिन्छ।
उनले तयार गरेको ‘कन्टेन्ट’ कल्पना र ‘फ्यान्टासी’ को वृत्तभन्दा पनि देखेको र भोगेको अनुभवको ज्ञान र चेतनाबाट निसृत छ। यति हुँदाहुँदै पनि उनका कवितामा केही कमजोरी त पक्कै भेटिन्छन्। आफन्तको सम्झना र वियोगमा लेखिएका केही कविता भावनात्मक लगावले केही लामा बनेका छन्। एउटै कथा घरीघरी दोहोरिएको हो कि भन्ने भान हुन्छ। उत्पीडितको कथा भन्दै गर्दा उनले वर्षौंदेखि शोषणको पिंधमा रहेको दलितको विषयमा केही लेखेको भेटिन्न।
पछिल्लो समय साहित्य मानवीय पक्षसँग जोडिनुपर्छ भन्ने आवाज उठिरहेको छ। बीसौं शताब्दीका अंग्रेजी कवि टेड ह्युजले आधुनिक कविहरू अत्यधिक कल्पनाशीलतालाई परित्याग गरेर व्यावहारिक लेखनतर्फ उन्मुख छन् भनेका थिए। कवि स्याङतानका कविता पनि सामाजिक सवालमा उभिएका छन्।
मूलत: उनी रूपवादीभन्दा पनि सारवादी देखिन्छन्। कला र विचारको बहस अब थोत्रिसक्यो। कविता अब सङ्कीर्ण परिभाषाको घेरा तोडेर मानवीय मूल्य, सामाजिक यथार्थ, जीवनदर्शन लगायत यावत् कुरासँग जोडिनुपर्छ। कविता अब मानिस सँगसँगै हिंड्नुपर्छ। ओ पेङदोर्जे कृतिका वाचाल कविता पढ्दा साँच्चै यस्तै अनुभूति हुन्छ। कविताको स्तर र गुणत्मकता घट्दै गएको अहिलेको अवस्थामा कवि स्याङतानको कृतिले निकै शक्तिशाली उपस्थिति जनाएको छ।