स्वर्ग जानु च्छो रोल्पाको बाटो
ना गाउँ कटेर ढुङ्गैढुङ्गाको उकालो चढ्दै जाँदा हाम्रो यात्राले गन्तव्य भेट्यो जहाँ शान्त र स्थिर च्छो रोल्पा लम्पसार थियो।
एकनासको दिनचर्याबाट केही समयका लागि बाहिरिने मनसायमा थियौं, हामी युवा आर्किटेक्ट। यही मेसोमा नेपालको प्राकृतिक छटाले युक्तले स्थानमा निस्कने योजनाले उत्साहित भयौं। त्यो थियो, च्छो रोल्पा हिमताल।
हाम्रो समूहले उपल्लो रोल्वालिङस्थित चार हजार ५५० मिटरको उचाइमा रहेको च्छो रोल्पा हिमताल जाने निर्णय गर्यो। धेरैलाई थाहा भएकै कुरा हो, च्छो रोल्पा नेपालको एक ठूलो र खतरनाक हिमताल हो। यो पदयात्रा ऊर्जायुक्त मात्र थिएन, जलवायु सङ्कटले कसरी हिमाल पग्लिरहेको छ भन्ने बुझाउने जल्दोबल्दो उदाहरण पनि थियो।
भाडामा लिइएको टाटा सुमोमा काठमाडौंबाट च्छो रोल्पाका लागि हिड्यौं। काभ्रे नपुग्दै यात्रालाई विश्राम दिनुपर्यो, किनभने सिंगटी जाँदै गर्दा सुमोको चक्का पन्चर भयो।
एक हजार ४१० मिटर उचाइको गौरीशंकर संरक्षण क्षेत्रमा जेनतेन पुग्यौं। त्यहाँबाट दुई हजार मिटरको उचाइमा रहेको सिमी गाउँ पुग्नु थियो। यो क्षेत्रमा पदयात्रालाई सहज बनाउन स्वीस सहयोगको पनि योगदान रहेको छ।
यस कठिन बाटोमा हिंड्न सजिलो होस् भनेर स्वीसहरूले ठाउँ ठाउँमा सिंढी बनाइदिएका रहेछन्। ठाउँ ठाउँमा मानिस नहराऊन् भनेर शाइनबोर्ड पनि राखिएको रहेछ।
रोल्वालिङ एउटा यस्तो बेयुल हो, जुन उपत्यकालाई स्थानीय तामाङ र शेर्पा समुदायले आध्यात्मिक महत्त्वको स्थान मान्छन्। आकाशको नीलो रङ बैजनीमा परिणत हुँदै गर्दा स्थानीय भाषामा चोमोरिङ्मा भनिने गौरीशंकरले दक्षिणी पाखोतर्फ लुक्नुअघि केही क्षणका लागि दर्शन दियो। अन्धकार मडारिंदै गर्दा सिमिगाउँको सिरानमा आँधीको एक झोक्का हान्यो।
अर्को दिनको हिंडाइका लागि तयार हुनु थियो। त्यो दिनको हाम्रो गन्तव्य कोदोबारी हुँदै तीन हजार ३३० मिटरमा रहेको ताङदिनसम्म थियो। दुई हजार ४८० मिटरको उचाइमा रहेको सुरमुचेमा खाजा खान अडियौं। खाजाका लागि कुर्दै गर्दा घाँसमा लडीबुडी गर्यौं र त्यति वेला अधीर बादलले वरपरका पहाडलाई घेर्दै गरेको दृश्यले मोहित बनायो।
त्यस दिनको अन्तिम उकालो चढ्दै गर्दा पानीले बेस्सरी चुट्यो। अघि नै मडारिएको बादलले पानीसँगै हिउँ पारेर गएको थियो।
नयाँ बिहानीमा सेतो र स्निग्ध हिउँको तन्नाले स्वागत गरे झैं लाग्यो। चार हजार १८० मिटरको उचाइमा रहेको ना गाउँमा बटुलेको अनुभव पनि पूर्णतः नयाँ नै थियो। त्यसलाई अद्भुत भन्दा उपयुक्त हुन्छ होला।
जसै च्छो रोल्पा पुग्न पहाड उक्लिँदै गयौं, बाटोमा भेटेको नदीको रङ गहिरो सागरको झैं थियो। ढुङ्गैढुङ्गाको उकालो चढेर ताल सन्मुख हुँदा हाम्रो यात्राले गन्तव्य भेट्यो।
तालको पहिलो झलकका लागि कुनै तयारी गर्नु परेन। आँखै अगाडि शान्त र स्थिर च्छो रोल्पा लम्पसार थियो। एउटा गहिरो शान्त सुन्दरताको प्रतिविम्ब च्छो रोल्पाको जमेको हिउँमा देखिए झैं भयो। अनि मनको अर्को कुनामा चिसो तरङ्ग छुट्यो, यो सबै हिउँ पग्लियो भने के होला?
याे सामग्री अंग्रेजीमा पढ्न नेपाली टाइम्समा क्लिक गर्नुहोस्।