लागुऔषधका महिला भरिया बढ्दै
सीमावर्ती भारतीय बजारबाट नेपालमा प्रतिबन्धित औषधि (लागुऔषध) बोक्ने महिला भरिया बढ्न थालेका छन् ।
पछिल्लो समयमा लागुऔषध ओसार–पसार र प्रयोगमा महिलाको संख्या बढ्दै गएको प्रहरीले बताएको छ
विराटनगर महानगरपालिका १५ स्थित रामजानकी मन्दिर छेउबाट बिहीबार एक महिला ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परिन् ।
पक्राउ परेकी स्थानीय अरजिना खातुन (३०) को साथबाट लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाइजोल्याव २ सय एम्पुल, स्पास्मो १४४ चक्की, नाइट्रोसन ३० चक्की, डाइजेल्याप ५ बोतल फेला परेको प्रहरीले बताएको छ ।
भारतीय बजार जोगवनीमा खरीद गरेको लागुऔषध महिलाले झोलामा लिएर आएको सूचनाका आधारमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले उनी भरिया हुन् या कारोबारी भन्ने अनुसन्धान भइरहेको बताए । उनको साथबाट नगद रु २६ हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका खातुनलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।