उपसभामुखलाई भएको आक्रमणको विरोध
कोशी प्रदेशको नामकरणमा असन्तुष्ट समूहले उदयपुरमा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारलाई गरेको आक्रमणको विभिन्न संघसंस्थाले विरोध गरेका छन्।
पहिचानका आधारमा नामकरण हुनुपर्ने माग गर्दै आन्दोलरत समूहले जेठ २५ गते उदयपुरको त्रियुगा नगरपालिका–१२, बुद्धचोकमा उपसभामुख दनुवारमाथि आक्रमण गरेका थिए। आक्रमणबाट उपसभामुख दनुवार चढेको बा २ झ ३७३८ नम्बरको गाडीमा क्षति भएको थियो। यससँगै त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राईको गाडीमा पनि आक्रमण भएको थियो।
त्यसलाई लिएर नेकपा (एमाले) प्रदेश कमिटी, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत संघसंगठनले विरोध जनाएका हुन्। उनीहरूले विज्ञप्ति जारी गरी उपसभामुख दनुवारलाई आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
आक्रमणमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।
गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेपछि असन्तुष्ट पक्षले आन्दोलन गरिरहेको छ। आन्दोलनकारीसँग वार्ता गर्न प्रदेश सरकारले वार्ता टोली पनि गठन गरेको छ।