हरेक महीना भित्रिन्छ एक खर्ब रेमिटेन्स, विदेशी मुद्राको सञ्चिति बढ्यो
बढ्दो रेमिटेन्सका कारण मुलुकको अर्थव्यवस्था सन्तुलनमा रहेको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले हरेक महीना एक खर्ब रुपैयाँ रेमिटेन्स भित्रिइरहेको छ। वैशाखसम्म १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो गत वर्षको यही अवधिका तुलनामा २३.४ प्रतिशतले धेरै हो। अमेरिकी डलरमा समेत रेमिटेन्स १३.४ प्रतिशतले बढेको छ।
रेमिटेन्सले भरथेग गरेका कारण देशको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ। वैशाखसम्म देशको विदेशी मुद्राको सञ्चिति ११ अर्ब २१ करोड अमेरिकी डलर बराबर पुगेको छ। यो गत असारको तुलनामा १७.६ प्रतिशत धेरै हो। गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा घटेपछि सरकारले कैयौं वस्तुको आयातलाई नियन्त्रण गरेको थियो।
गत वर्षको दाँजोमा यो वर्ष आयात करीब १६.८ प्रतिशतले घटेको छ। वैशाखसम्म १३ खर्ब ३५ अर्ब मूल्यका वस्तु आयात भएका छन्। खासगरी सवारीसाधन तथा स्पेयर पार्टस्, फलाम, औषधि, अन्य मशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्टस् लगायत वस्तुको आयात घटेको राष्ट्र ब्यांकले जनाएको छ।
निर्यात पनि यो वर्ष घटेको छ। कुल वस्तु निर्यात गत वर्षको यही अवधिका तुलनामा २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ कायम भएको राष्ट्र ब्यांकको तथ्याङ्क छ। यो वर्ष सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका सामान तथा गरगहना लगायत वस्तुको निर्यात घटेको छ।
आयात घटेको तथा रेमिटेन्सको उच्च वृद्धिका कारण देशबाट बाहिरिने भन्दा भित्रिने रकम धेरै हुन पुग्दा देशको शोधनान्तर स्थितिमा लगातार सुधार आइरहेको देखिएको छ। वैशाखसम्म देशको शोधनान्तर स्थिति (देशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर) दुई खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ।
गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब रुपैयाँले घाटामा थियो। शोधनान्तर स्थितिलाई अर्थतन्त्रको अवस्था नाप्ने एउटा सूचक मानिन्छ। यो लगातार घाटामा जानु चिन्ताजनक मानिन्छ।
विदेशबाट रेमिटेन्स भित्रिने क्रम उत्साहजनक रहे पनि नेपालबाट अध्ययन तथा वैदेशिक यात्रामा बाहिरिने रकम पनि उसैगरी बढेको छ। वैशाखसम्म नेपालबाट विदेश यात्रा गर्ने (अध्ययनसहित)ले एक खर्ब दुई अर्ब ४८ करोड रुपैयाँ विदेश पुर्याएका छन्। यो गत वर्षको यही अवधिको तुलनामा ३५.३ प्रतिशत धेरै हो।