पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको बताएका छन्।
एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार विरुद्ध कलम चलाउन आग्रह गरेका छन्। अहिले जताततै भ्रष्टाचार देखिन थालेको नेपालको भनाइ थियो।
“समाजमा भ्रष्टाचार नाङ्गो रूपमा आएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण त्यसैको उदाहरण हो,” पूर्व प्रधानमन्त्री नेपालले भने, “पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको छ।”
उनले पत्रकारलाई यस विरुद्ध लाग्न आग्रह गरे। पत्रकारले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी लेख्नुपर्ने नेपालको भनाइ थियो। “असल कामको चर्चा होस्। समाजमा सबै सकारात्मक–नकारात्मक कुरा हुन्छन्, सबै आओस्,” उनले भने, “आग्रह-पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन।”
सकारात्मक कुरा गर्दा एकपाखे नहुने पनि उनले आग्रह गरे। “सकारात्मक र नकारात्मक दुवै कुरा उजागर गर्नुहोस्। सकारात्मक हेर्न थाल्यो भने एकपाखे हुने, अन्धभक्त हुन खोज्ने नगर्नुहोस्,” नेपालले भने, “आलोचनात्मक ढङ्गले सोच्नुहोस्, लेख्नुहोस्।”
उनले संविधानको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिए। अहिले चारैतिरबाट संविधानमाथि प्रहार भइरहेको उनको भनाइ थियो। “संविधानले लोकतन्त्र, संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ। समाजवादमुखी मान्यतालाई अघि सारेको छ,” प्रतिगामीले संविधानमाथि प्रहार गरिरहेको उल्लेख गर्दै नेपालले भने, “संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी हाम्रो हो। संविधानलाई आँच आउने काम गर्न दिनु हुँदैन।”