संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्यमा नेपाल निर्वाचित
नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ।
राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बिहीबार राति सम्पन्न भएको मतदानमा नेपाल १४५ मत सहित एशिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ सदस्य निर्वाचित भएको हो। राष्ट्रसंघको वडापत्र १९४५ अनुसार ६ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो।
यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उँचो बनाएको राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख अमृत राईले बताए। राईले भने, “नेपालले मानव अधिकार परिषद्मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। राष्ट्रसंघका परिषद्मा नेपालले निर्वाचित भएर विश्वमञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ।”
यसका लागि उनले सम्पूर्ण सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गरेका छन्। “नेपालले सदस्यका रूपमा जिम्मेवारी लिएपछि विश्व सहस्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रहरूका लागि दोहा कार्ययोजनालाई कार्यान्वयनमा समन्वयकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ,” राईले भने।
गोप्य मतदान मार्फत भएको मतदानमा एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्। तीनै देश सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएका हुन्।
मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्यान्ड लगायत छन्। तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट नयाँ सदस्य राष्ट्रले काम गर्नेछन्।
नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिक रूपमा अगाडि बढिरहेको छ। यस्तो वेला आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाबारे सुधार गर्दै सहस्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रम समेत अगाडि सारेको छ।