गर्मी बढेपछि दाङका विद्यालय एक साता बन्द
केही दिनयता गर्मी बढेपछि दाङका विद्यालय एक सातासम्मका लागि बन्द गरिएका छन्।
अत्यधिक गर्मीका कारण बालबालिकामा ज्वरो आउने, थकाइ लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिन थालेपछि स्थानीय सरकारले पठनपाठन बन्द गरेका हुन्। विभिन्न स्थानीय सरकारले शुक्रबारदेखि एक साताका लागि विद्यालय बन्द गरेका छन्।
तुलसीपुर उपमहानगरपालिकाले जेठ २६ गतेदेखि ३० गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यलाय बन्द गर्ने निर्णय गरेको छ। बालबालिकालाई गर्मीबाट जोगाउन विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए।
यस्तै, घोराही उपमहानगरपालिकामा जेठ ३१ गतेसम्म संस्थागत विद्यालय बन्द गरेको छ। गर्मीको समयमा पठनपाठनमा समस्या हुुनुका साथै विद्यार्थीलाई समेत असर पर्ने भएकाले घोराही नगर प्याब्सनले घोराहीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको सचिव बालकृष्ण ओलीले बताए।
त्यस्तै, राजपुर गाउँपालिकाले जेठ २६ गतेदेखि ३० गतेसम्म, लमही नगरपालिकाले जेठ २८ गतेदेखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
शान्तिनगर गाउँपालिकाले जेठ २५ गतेदेखि ३० गतेसम्म, राप्ती गाउँपालिकाले जेठ २४ गतेदेखि २६ गतेसम्म र गढवा गाउँपालिकाले जेठ २५ गतेदेखि २९ गतेसम्मका लागि विद्यालय बन्द गरिसकेका छन्।