नयाँ गन्तव्य बन्दै सय वर्ष पुरानो सुरुङमार्ग
सय वर्षअघि निर्माण भएको चुरियामाई सुरुङमार्गमा टहल्न सकिने भएको छ। सुरुङमार्गको पुनर्निर्माण पूरा भएको छ भने रङरोगनपछि सर्वसाधारणका लागि खुला गरिनेछ।
मकवानपुर र बाराको सिमानामा पर्ने दक्षिणएशियाकै पुरानोमध्ये पर्ने चुरियामाई सुरुङमार्ग केही दशकयता सञ्चालनमा थिएन। अझ २०७२ सालको भूकम्पले क्षति पुगेपछि पूर्ण रूपमा बन्द थियो।
हेटौंडा उपमहानगरपालिका-१५ मा पर्ने चुरियामाई सुरुङमार्गको पुनर्निर्माण २३ महीना लगाएर पूरा गरिएको छ। २०७८ साउन १४ गते पुनर्निर्माणको शुरुआत गरिएको थियो भने केही दिनअघि काम सम्पन्न भएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ।
काठमाडौंलाई तराईसँग जोड्न चन्द्रशमशेरको पालामा चुरियामाई सुरुङमार्ग निर्माण भएको थियो। यो ऐतिहासिक सुरुङमार्गको एउटा खण्ड करीब ४० मिटर भत्किएको थियो। त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले बताउँछन्।
निर्देशक रेग्मीका अनुसार यसै साता मात्रै सुरुङमार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको छ। “अब फिनिशिङ, रङरोगनको काम बाँकी छ,” निर्देशक रेग्मी हिमालखबरसँग भन्छन्, “अहिले सबैलाई प्रवेशाज्ञा दिइएको छैन। रङरोगन सकिएपछि पर्यटक तथा अनुसन्धान गर्नका लागि अनुमति दिइनेछ।”
सुरुङमार्ग भन्नासाथ सवारी ओहोरदोहोर गर्ने मार्ग भन्ने बुझिन्छ, तर अब यसमा सवारी गुड्नेछैनन्। बरु पैदल टहल्न सकिनेछ। २०२० सालसम्म भने यो सुरुङमार्गमा पनि सवारीसाधन आवतजावत गर्थे।
अब पुनर्निर्माणपछि सवारीसाधन गुडाउन नभई पर्यटकीय र अध्ययन थलोका रूपमा विकास गरिने भएको छ। यसलाई अवलोकन र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले बताउँछन्।
चुरियामाई सुरुङमार्ग १९७४ सालमै बनेको थियो। नेपालको पहिलो इन्जिनीयर भनेर चिनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले यो सुरुङमार्गको डिजाइन गरेका थिए। चुरे पर्वतमा बनेको सुरुङमार्ग साढे दुई मिटर चौडाइ, तीन मिटर उचाइ र ५०० मिटर लम्बाइको छ। जसको एकातिरको भाग पुरिएपछि मार्गको करीब २८० मिटर मात्र बाँकी छ।
माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको सुरुङमार्गबारे स्वीस भूगर्भविद् टोनी हागनले आफ्नो पुस्तक दी हिमालयन किङडम अफ नेपालमा पनि चर्चा गरेका छन्। उनले यो ‘एशियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन्।
राणाकालमा भारतको रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल चल्ने गरेको थियो। त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न समस्या थियो। चुरे पर्वत फुटाएर घुमाउरो बाटो नबनाएर सुरुङमार्ग बनाइएको थियो। यही सुरुङमार्गमा चल्ने गाडीले मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीसम्म समान ल्याउँथे। काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान पुर्याइन्थ्यो।
२०१३ सालमा त्रिभुवन राजपथको निर्माण शुरू भयो। त्यस क्रममा सुरुङमार्गको मध्यखण्डमा विस्फोट गराएर भत्काइयो जहाँ सडक बनाइएको थियो। २०७२ सालको भूकम्पले झन् क्षति पुग्यो। त्यसपछि भने अवलोकन गर्न पनि बन्द गरियो।
अहिले आएर प्रदेश सरकारले पुनर्निर्माण गरेको हो। त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङमार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सुरुङमार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर बनाइएको थियो। तर, मर्मत शुरू गरेपछि ४० मिटर भाग धसिएको पाइयो।
त्यस्तै, शुरूआतमा १९८ मिटर लम्बाइमा पुनर्निर्माण गर्नुपर्ने आकलन भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको निर्देशक रेग्मीले बताउँछन्। तीन करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्शनले २०७७ वैशाखमा पुनर्निर्माणको ठेक्का पाएको थियो।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड-१९ महामारी, प्राविधिक कठिनाइका कारण दुई पटक म्याद थपिएको थियो। “सुरुङ साँघुरो भएको कारण मशिन लैजान नमिलेपछि काम गर्न ६ महीना बढी समय लागेको हो,” निर्देशनालयका प्रवक्ता ओझा भन्छन्। आगामी असारभित्र निर्माण सक्नुपर्ने समयसीमा दिइएको छ।
पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको थियो। अहिले भने सर्वसुलभ उपलब्ध हुने निर्माण सामग्री नै प्रयोग गरिएको छ।
सुरुङमार्गबाट २०१९ सालसम्म सवारीसाधन आउजाउ हुने गरेको र आफूले यात्रा गरेको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल सुनाउँछन्। त्यति वेला उनी १६ वर्षका थिए। “पछि त्रिभुवन राजपथ बन्यो, ठूल्ठूला सवारी साधन भित्रिए, सुरुङ सानो भयो,” पौडेल भन्छन्, “सुरुङमार्गको छेउमा विस्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो।”
अब चुरियामाई सुरुङमार्गले इतिहास बचाउने मात्र होइन, पर्यटन प्रवर्द्धन गर्ने उनको भनाइ छ। “यो स्थान इन्जिनीयरिङका विद्यार्थीका लागि महत्त्वपूर्ण सावित हुन सक्छ,” पौडेल भन्छन्।
हेटौंडा-१५ मा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइनर इन्जिनीयर डिल्लीजंग थापाको अर्धकदको शालिक स्थापना गरिसकेको छ। पुनर्निर्माण सकिएपछि हेटौंडा उपमहानगरलाई हस्तान्तरण गरिनेछ। त्यसपछि सर्वसाधारणले पनि सुरुङमार्ग अवलोकन गर्न पाउनेछन्।