पाठ्यपुस्तक: विज्ञता होइन, सनक हावी
वैज्ञानिक आधारमा नभई विषयविज्ञका लहडमा हतार हतार पाठ फेरबदल गर्ने प्रवृत्तिले पाठ्यपुस्तक किचलोको कारण बनिरहेछन्।
विद्यालयतर्फको शैक्षिक सत्र २०८० शुरू हुनासाथ दुई पाठले सामाजिक सञ्जालमा राम्रै ठाउँ पाए। एक, कक्षा १२ को ऐच्छिक नेपालीमा समाविष्ट भूपाल राईको हरिनन्द र माटो शीर्षक कविता हटाउन माग र त्यसको प्रतिवाद। दुई, कक्षा १० को अनिवार्य नेपालीबाट डा. सन्दुक रुइतको जीवनी हटाइँदाको आक्रोश।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार निर्मित माध्यमिक शिक्षा पाठ्यक्रमको भाग ४ मा कक्षा १२ मा ऐच्छिक नेपाली विषय छ, जसमा सीमान्तीकृत चेतना भावको कविताका रूपमा हरिनन्द र माटो समावेश छ। कविता समेटिनुको उद्देश्य विद्यार्थीमा मूलभाव, लयविधान, रस, अलङ्कार, उद्देश्य र शिल्पका आधारमा विश्लेषण सीप विकास गर्नु हो।
राईको उक्त गद्य कविताको पाँचौं अनुच्छेदमा उल्लिखित दुई हरफ ‘पूरा नाम- हरिनन्द पोखरेल, ठेगाना- खार्पा, माझ किरात, खोटाङ’ ले आफ्नो थातथलो, थर र पुर्खाको अपमान गरेको भन्दै खार्पाली पोखरेलहरूको एउटा समूहले विरोध जनायो। कवितालाई पाठ्यक्रमबाटै हटाउन माग राखी उनीहरू गत वर्ष नै पाठ्यक्रम विकास केन्द्र पुगेका थिए।
जवाफमा केन्द्रका पदाधिकारीले बीचमा आएर पाठ हटाउन नसकिने तर आउँदो शैक्षिक सत्रबाट सोच्न सकिने आश्वासन दिएको खबरसँगै उक्त प्रसङ्ग सेलाएको थियो। शैक्षिक सत्र शुरू हुने वेला उनीहरूले फेरि शिक्षासम्बद्ध निकायहरू धाउँदै कविता हटाउन दबाब तीव्र दिए। यसको विपक्षमा पनि आवाज उठिरहेका छन्।
को हुन् हरिनन्द पोखरेल? उनी खार्पाली पोखरेलहरूले भने जस्तो उनीहरूलाई अपमान गर्ने गरी उब्जाइएका पात्र होइनन्, प्रमाणहरूले पुष्टि गरेका ऐतिहासिक व्यक्ति हुन्। पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गर्नुपूर्व हालको पूर्वी नेपाल सेन राज्य अन्तर्गत पर्थ्यो। ठाउँ ठाउँमा छोटे राजाहरू थिए।
तिनैमध्येको चौदण्डी राज्यको राजपुरोहित थिए, हालको खोटाङस्थित रावाबेसी गाउँपालिकाका उच्च खानदानी व्यक्ति हरिनन्द। चौदण्डीका छोटे राजा कर्ण सेनका देवान अर्थात् मन्त्री अजित रायसँग उनको मनमुटाव भयो। यस्तोमा हरिनन्दले नुवाकोटमा बसेर पूर्व ताक्दै गरेका पृथ्वीनारायणलाई भेटी पूर्वतिर छिटोछिटो अघि बढ्न निम्तो दिएका थिए। उनले भेटीका रूपमा चौदण्डीको एक डल्लो माटो पनि पृथ्वीनारायणको पाउमा राखिदिएको इतिहासमा उल्लेख छ।
पाठहरूमा ऐतिहासिक व्यक्तित्वहरूको चर्चा भई नै रहन्छ- निबन्ध, कथा, जीवनी, नाटक, चिठी वा कविता आदिका माध्यमले। यस्तोमा कुनै प्रामाणिक व्यक्तिको प्रसङ्ग पर्दैमा कुनै समुदायलाई होच्याएको वा उचालेको भन्ने नहुनुपर्ने हो। तर, हरिनन्दको प्रसङ्गलाई इतिहासले बोलेको तथ्य भन्दै अर्को पक्षले उक्त कविता पाठबाट हटाए ‘राम्रो नहुने’ चेतावनी पनि दिइरहेको भेटिन्छ, सामाजिक सञ्जालहरूमा।
दोस्रो प्रसङ्ग, डा. रुइतबारे। २०७४ सालमा लागू गरिएको कक्षा १० को नेपाली पाठ्यपुस्तकमा वरिष्ठ नेत्रविशेषज्ञ रुइतको जीवनी समाविष्ट थियो जुन २०८० को पाठ्यक्रममा हटाइयो। यसबारे सामाजिक सञ्जाल मात्र होइन, संसद्मा पनि आक्रोश पोखियो।
‘नेपाललाई विश्वसामु चिनाउने नेपाली चिकित्सकको जीवनी पाठबाट हटाएर सरकारले ठूलो भूल गरेको’ प्रतिक्रिया आए। जवाफमा पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीले रुइतबारेका पाठहरू विद्यालय शिक्षाको पाठ्यक्रमबाट पूर्ण रूपमा नहटाइएको तर्क गरे। कक्षा १० को सामाजिक, कक्षा ८ र ४ को नेपाली तथा कक्षा ७ को अंग्रेजी विषयमा रुइतबारे सामग्री कायमै रहेको बताएका उनीहरूले कक्षा १० को नेपालीबाट हटाउनुको कारण भने दिएका छैनन्।
न तर्क न त आधार
लोकतन्त्र स्थापनायता पाठ्यक्रम हरेक पाँच वर्षमा मूल्याङ्कन र १० वर्षमा परिमार्जन गर्ने नीति लिइएको छ। पाठ्यक्रम परिमार्जन गर्दा बदलिंदो राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश, विज्ञान प्रविधिको विकास, सामाजिक चेतनामा बदलाव र शिक्षण सिकाइका बदलिएका प्रवृत्ति जस्ता दर्जनौं कारण दिइन्छन्। शिक्षाको राष्ट्रिय, तहगत, कक्षागत र विषयगत उद्देश्यमा फेरबदल गरिन्छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ सालमा आइपुग्दा पाठ्यक्रम उद्देश्यमा आधारितबाट सक्षमतामा आधारित भयो। शिक्षण सिकाइ क्रियाकलाप पाठ्यभारबाट पाठ्यघण्टामा आइपुग्यो। मूल्याङ्कन पद्धति अङ्कबाट अक्षराङ्कनमा प्रवेश गरेको त २०७२ सालबाटै हो।
परिमार्जित पाठ्यक्रममा पाठको छनोट कसरी गरिन्छ भन्ने कुरा बुझिनसक्नु छ। धेरै पाठ यताउता पारेर नयाँ पाठ्यपुस्तक निकाल्ने चलन छ। गुरुप्रसाद मैनालीको छिमेकी कथा कहिले कक्षा १०-११ तिर उक्लन्छ, कहिले कक्षा ६ मा ओर्लिन्छ त कहिले हराउँछ। भूपि शेरचनको मेरो देश कविता अहिले कक्षा १२ को ऐच्छिक नेपालीमा आइपुगेको छ।
२०६३ सालमा जारी पाठ्यक्रम अनुसार कक्षा ९ को अंग्रेजी किताबमा सात वटा कविता थिए। २०७३ सालमा परिमार्जित हुँदा सबै हटे। २०७९ सालमा तीमध्ये डब्ल्यूएच डेभिसको लिजर, ल्याङ्स्टन ह्यूजको म्याडम एन्ड हर म्याडम र जोन हिलका रिक्सा राइड जस्ताको त्यस्तै फर्केर आइपुगे। त्यस्तै, एउटा नाटक र एउटा निबन्ध हराएर फरक शीर्षकमा आए।
२०६५ सालमा कक्षा १० को अंग्रेजीमा रोबर्ट फ्रस्टको कविता ‘स्टपिङ बाई वुड्स इन अ स्नोवी इभिनिङ’ राखिएको थियो। २०७४ सालमा त्यसको ठाउँ फ्रस्टकै ‘द रोड नट टेकन’ ले लियो। अघिल्लो कविता कक्षा ९ मा झर्यो। कक्षा १० को ‘अ मेसेज फ्रम अनदर प्लानेट’ शीर्षक विज्ञान कथा २०७४ सालमा हरायो, २०७९ सालमा कक्षा ओर्लेर आयो।
त्यस्तै, विलियम समरसेट मामको ‘द आन्ट एन्ड द ग्रासहपर’ को शुरूको केही भाग हटाएर कक्षा १० को अंग्रेजीमा राखिएको थियो। २०७९ सालमा भने कक्षा ९ मा पूरै अंश राखिएको छ। कुनै पाठ कुनै कक्षाको कुनै विषयमा राख्नुका कारण थुप्रै दिन सकिएला। तर, किन हटाइन्छन्, किन कक्षा र विषय यताउता पारिन्छन्, किन पहिल्यै मिल्काइएको पाठ खोजेर ल्याइन्छ, किन शीर्षक वा पाठका केही भाग थपघट पारिन्छ, यसको ठोस आधार कसैले दिंदैन। यसलाई विषयविज्ञको लहड वा सनक किन नभन्ने?
अदूरदर्शी नेतृत्व, अपरिपक्व काम
बीएको अनिवार्य अंग्रेजीमा समाविष्ट इन्रिच योर इङ्लिशमा ‘बुद्ध वाज बर्न इन इन्डिया (बुद्ध भारतमा जन्मिएका हुन्)’ वाक्य परेको विरोधमा २०५४ सालमा विद्यार्थी संगठनले देशभरि आगो बालेका थिए। त्यस्तै, कक्षा ६ को सामाजिक विषयको एउटा पाठले तामाङ जातिको अपमान गरेको भन्दै जनजातिले सच्याउन लगाए।
२०६६ सालसम्म कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तकमा रहेको माधवप्रसाद घिमिरे लिखित ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’ कविता शिल्पका हिसाबले सुन्दर भए पनि किशोरकिशोरीमा नेपाल देश नै नरहने नकारात्मक भावना पनि जन्माउन सक्ने भन्दै आवाज उठेको थियो।
यसै वर्षको कक्षा १० को अंग्रेजी पुस्तकको पृष्ठ १७ मा संस्कृति जनाउने चार चित्र छन्, जसमध्ये ललितपुरको मच्छिन्द्रनाथ रथजात्रा र भक्तपुरको बिस्केट जात्राको फोटो परिचयमा इङ्ल्यान्डको जोर्भिक जात्रा र अमेरिकाको मार्दीग्रास जात्रा राखिएको छ। त्यसबारे पाठ्यक्रम विकास केन्द्रले विज्ञप्ति निकालेर सच्याएको छ। तर, सोही किताबको पृष्ठ २८८ मा लामीडाँडाको व्याख्यासँग दिक्तेल बजारको फोटो राखिएकोबारे कसैले स्पष्ट पारेको थाहा छैन।
हाम्रा नीतिनियम र व्यवहार शिक्षा क्षेत्रका हकमा पनि ‘हतारको काम लतरपतर’ सावित हुने गरेका छन्। समय छउन्जेल घाम ताप्ने अनि घर्किन थालेपछि हतारमा काम सकेर अपजसको भारी बोक्ने प्रचलन छ। प्राविधिक त्रुटि मात्र होइन, कुनै पाठ राख्दा वा हटाउँदा समाजमा कस्तो प्रभाव पर्छ भन्ने आकलन गर्न नसक्नु शैक्षिक नेतृत्वको कमजोरी हो।
२०७२ सालमा जारी अक्षराङ्कन पद्धति निर्देशिका एकै वर्ष दुई चोटि परिमार्जन हुनुले पनि यसलाई पुष्टि गर्छ। एउटा समस्या सम्बोधन गर्न नीति, नियम, निर्देशिका वा कार्यविधि संशोधन गर्दा अर्को समस्या निम्तिने तथा समस्या एकातिर अनि समाधान अर्कातिर खोज्ने प्रवृत्ति निरन्तर छ।