५६ लाख लगानीकर्ताका नाममा शेयर बजारमा सीमित व्यक्तिलाई मात्रै फाइदा उठाउन दिनु हुँदैन: मन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख लगानीकर्ता देखाएर शेयर बजारमा निश्चित व्यक्तिलाई मात्रै फाइदा हुने प्रवृत्ति ठीक नभएको बताएका छन्।
नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव अवसरमा मन्त्री महतले शेयर बजारमा ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उनले धितोपत्र बोर्ड खास व्यक्तिलाई मात्रै लाभ दिने माध्यम बन्न नहुनेमा जोड दिए।
धितोपत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत्त्वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै महतले शेयर बजारलाई अझैं स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि मन्त्रालयको तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
उनले आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको नीतिले ५६ लाख लगानीकर्तालाई आयकरको दायरामा ल्याउन नखोजेको बताए। “शेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यम धितोपत्र बोर्ड बन्नु हुँदैन,” मन्त्री महतले भने, “शेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्, उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो।”
उनले शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्ने, हरेक क्रियाकलापलाई कागजरहित बनाउनुपर्ने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चितता गर्नेलगायत कुरामा उच्च सतर्कता चाहिएको बताए।
मन्त्री महतले शेयर बजारलाई स्वस्थ बनाउन र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र ब्यांकले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले भने, “बजारलाई कमजोर बनाउने, यसप्रतिको विश्वासलाई कम गराउने काम अर्थ मन्त्रालयले गर्दैन, तर सीमित व्यक्तिले मात्रै फाइदा उठाउने, नाम चाहिं ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ।”