शेयरमा आयकर लगाउने भन्ने हल्ला गलत हो: अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले शेयर बजारका विषयमा गलत हल्ला चलेको बताएका छन्।
आम लगानीकर्तालाई आयकरको दायरमा ल्याउन नखोजिएको अर्थमन्त्री महतको भनाइ थियो। “आगामी आर्थिक वर्षका लागि आय तथा व्यय प्रस्तुत गर्दा शेयर बजारको विषयमा व्यवस्थाको उद्देश्य आम लगानीकर्तालाई आयकरको दायरामा ल्याउने होइन, यस विषयमा जुन हल्ला चल्यो त्यो गलत हो,” अर्थमन्त्री महतले भने।
धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री महतले भने, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पनि बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।”
उनले पूँजी बजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। यस जिम्मेवारीलाई उच्च महत्त्वका साथ धितोपत्र बोर्डले काम गर्नेछ र यसलाई अझ उचाइमा पुर्याउनेमा विश्वास व्यक्त गरे।
धितोपत्र बोर्डले नियमनको काम प्रभावकारी रूपमा गर्नुपर्ने भन्दै उनले शेयर बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्ना तर्फबाट पूर्ण रूपमा सहयोग हुने बताए। शेयर बजारबाट निश्चित व्यक्तिले फाइदा लिने माध्यम बोर्ड बन्न नहुने उनको भनाइ थियो।
पूँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेहरूको सुरक्षा गर्नु बोर्डको जिम्मेवारी भएको उनले बताए। “शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ। कमोडिटी बजारलाई पनि शेयर बजारमा प्रवेश गराउने विषय छ। धितोपत्र बोर्डलाई ‘अटोमेटेड सिस्टम’ मा लैजानुपर्छ,” महतले भने, “हरेक क्रियाकलापलाई कागजरहित बनाउने र कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चितता गर्ने लगायत कुरामा उच्च सतर्कता धितोपत्र बोर्डले अपनाउनुपर्छ।”