चीन-भारत जोड्ने गाउँलाई बाटोको पिरलो
लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको व्यास गाउँपालिका-१ का बासिन्दालाई भने वर्षौंदेखि बाटोकै समस्याले पिरोलिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणले गर्दा फेरि लिम्पियाधुरा, कालापानी र लिपुलेक चर्चामा छन्। सामरिक दृष्टिले महत्त्वपूर्ण यी तीनै स्थान रहेको वडामा पुग्न भने भारतकै बाटो हिंड्नुपर्छ।
दार्चुलाको व्यास गाउँपालिका-१ मै पर्छ, लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतको क्षेत्र। देशका ६ हजार ६८० वडामध्ये यो मात्रै यस्तो वडा हो, जहाँ पुग्न आफ्नै सहज बाटो छैन। त्यसैले छाङरुका बासिन्दा सदरमुकाम वा देशका अन्य भागबाट भारतको बाटो भएर घर फर्किन्छन्।
चीन र भारतलाई जोड्ने यो वडा भने आफैं नेपालसँग सहज रूपमा जोडिएको छैन। जसले गर्दा हरेक कुरामा भारतमा निर्भर हुनुपरेको स्थानीय बासिन्दा गुनासो गर्छन्। उनीहरूले दैनिक उपभोग्य सामान पनि भारतबाट आयात गर्नुपर्छ।
यो सीमान्त वडामा दुई वटा बस्ती छन्, छाङरु र तिंकर गाउँ। यी लिम्पियाधुरा, कालापानी र लिपुलेक पुग्नुअघिका मानवबस्ती हुन्। दुवै गाउँमा अल्पसंख्यक व्यासी सौका समुदायको बसोबास छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार यी दुवै गाउँमा २३७ जना बासिन्दाको बसोबास छ।
उनीहरू ६ महीना गाउँमा बस्छन् भने ६ महीना दार्चुला सदरमुकाम खलंगा झर्छन्। हिउँदका ६ महीना हिमपात हुने भएकाले उनीहरू चिसो छल्न सदरमुकाममा बसाइँ सर्छन्। वैशाखदेखि असोजसम्म गाउँमा बस्ने उनीहरू कात्तिक-मंसीरदेखि चैतसम्म गाईबस्तु सहित खलंगा आउँछन्।
यसरी बसाइँ सर्दा उनीहरूलाई सबैभन्दा बढी खड्किन्छ, बाटो। छाङरु र तिंकर जोड्ने बाटो हरेक वर्ष बन्ने र भत्किने गर्छ। पञ्चायतकालदेखि विभिन्न निकाय, संस्था र स्थानीय बासिन्दाको पहलमै पनि बर्सेनि घोडेटो बाटो मर्मतसम्भार हुने गरेको छ। तर, वर्षात् शुरू हुँदा भत्किहाल्छ।
अहिले व्यास गाउँपालिका-२ को माथिल्लो दुम्लिङसम्म मात्रै बाह्रै महीना हिंडडुल गर्न सकिन्छ। त्यसभन्दा माथि छाङरुसम्म झन्डै ३० किलोमिटर क्षेत्रमा सहज आवतजावत छैन। हरेक वर्षात्मा यो बाटो अवरुद्ध हुने गरेको छ। महाकाली नदीको कटान र पहिरोका कारण बाटो अवरुद्ध हुने गरेको स्थानीय बासिन्दा बताउँछन्।
घोडेटो बाटो निर्माणका लागि बजेट पनि विनियोजन हुँदै आएको छ। स्थानीय विकास पूर्वाधार कार्यक्रम मार्फत गत आर्थिक वर्षमा व्यास घोडेटो बाटो निर्माणका लागि दुई करोड ९१ लाख रुपैयाँ विनियोजन भएको थियो। गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ र चालू आर्थिक वर्षमा एक करोड ४१ लाख रुपैयाँ खर्च गरेर बाटो निर्माण गरिएको कार्यक्रमका इन्जिनीयर किशोर विष्ट बताउँछन्।
त्यस बाहेक नेपाल सरकारको विशेष संघीय अनुदान मार्फत व्यास गाउँपालिकाले पनि चालू आर्थिक वर्ष २०७९/८० मा तीन करोड विनियोजन गरेको छ। बाटो निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ।
इन्जिनीयर विष्टका अनुसार यो क्षेत्रमा २७ किलोमिटर बाटो र चार वटा झोलुङ्गे पुल निर्माणको योजना बनेको थियो। “भौगोलिक विकटता, चट्टानी भूभाग र महाकाली किनारै किनार बाटो निर्माण गर्नुपर्ने भएकाले विभिन्न कठिनाइ आउँदा पूर्ण रूपमा काम गर्न सकिएको छैन,” उनी भन्छन्।
दुम्लिङभन्दा माथिल्लो क्षेत्र कल्जु खोला, तम्बाकु, घाँटीबगर क्षेत्रमा महाकाली नदीले बढी कटान गर्दै आएको छ। भारततर्फ सडक निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थका कारण पनि नेपालतर्फको बाटोमा क्षति हुने गरेको उनी बताउँछन्।
नेपालतर्फ बर्सेनि घोडेटो बाटो मर्मतसम्भार भइरहँदा भारततर्फ भने त्यही हाराहारीमा दुई लेनको सडक निर्माण चलिरहेको छ। भारतले त्रिदेशीय सिमाना लिपुलेकसम्म सडक ट्र्याक खोलिसकेको छ। अहिले सडकलाई दुई लेनमा विस्तार गरिरहेको छ।
सडक विस्तारका क्रममा प्रयोग गरिने विस्फोटक पदार्थका कारण पहिरो गएर महाकाली थुनिई नेपालतर्फ बाटो भत्किने गरेको स्थानीय बासिन्दा बताउँछन्। यससँगै वर्षात्का वेला खोलानालामा आउने बाढी, ठाउँ ठाउँमा जाने पहिरोले पनि बाटो भत्किने गरेको इन्जिनीयर विष्ट बताउँछन्।
भौगोलिक रूपमै अप्ठ्यारो ठाउँ भएकाले घोडेटो बाटो मर्मतभन्दा पनि सडक निर्माणमा जोड दिनुपर्ने प्राविधिकहरू बताउँछन्। “अलि अलि गरेर बजेट सक्नुभन्दा एकीकृत कार्यक्रममा मार्फत तिंकर भञ्ज्याङसम्म सडक विस्तारको विकल्प छैन,” इन्जिनीयर विष्ट भन्छन्, “राज्यले नै विशेष प्याकेजमा काम गर्नुपर्छ।