वर्षात्का तीन महीना देशभर सडक खन्न रोक
वर्षात्का तीन महीना देशभरका सडक खन्न रोक लगाइएको छ।
सडक विभागले बिहीबार सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको जनाएको छ। यो अवधिमा देशभरका सडक डिभिजन कार्यालय मातहतका सडक खन्न स्वीकृति नदिइने सूचनामा उल्लेख छ।
वर्षात्का तीन महीनामा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिने भएकाले रोक लगाइएको विभागले जनाएको छ। त्यसैले विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले देशभर सडक खन्न स्वीकृति नदिने जनाएको छ।
कसैले जबर्जस्ती सडक खनेमा कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ। विभागले भनेको छ- कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।