तराईमा अझै पाँच दिन लूको जोखिम
तराई मधेशका जिल्लामा अझै पाँच दिन लूको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी अझै केही दिन अधिकतम र न्यूनतम तापक्रम वृद्धि हुने जनाएको छ। केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशको तराई मधेशको भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघिरहेको जनाएको छ।
आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण गर्दा तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिएको महाशाखाले जनाएको छ। हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने जनाइएको छ।
तसर्थ, तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएको विभागको आकलन छ। यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तातो हावा तथा लूका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने जनाइएको छ।
यसबाट जोगिन गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, पटक पटक पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध छ।