७० वर्षे उमेर हद हटे एमालेमा फर्कन्छु: वामदेव गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले ७० वर्षे उमेर हद हटाएसँगै नेकपा (एमाले)मा फर्कने बताएका छन्।
एमालेले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ भन्ने प्रावधान निलम्बन गरेसँगै गौतमले यस्तो प्रतिक्रिया दिएका हुन्।
“७० वर्षे उमेर हद हटाउनुभयो भने म प्रवेश गर्छु,” गौतमले बुधबार संघीय संसद् भवनमा भने। उनले आफ्नो पार्टी सदस्यता एमालेमै रहेको र गत वर्षसम्मको सदस्यता नवीकरण समेत भएको दाबी गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमलाई पार्टीमा स्वागत गर्ने सङ्केत गरे। सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै ओलीले भने, “उहाँले सदस्यता त्यहींको छ भन्नुभयो, होइन? अब कुरा बाँकी छ केही?”
एमालेमा भित्र्याउनुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, “ठीक छ, उहाँको पार्टी सदस्यता एमालेमै छ।”