बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित: माधव नेपाल
सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको प्रतिक्रिया दिएका छन्।
अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। “बजेट जति सबै डडेल्धुरा र गोरखामा केन्द्रित गरियो भन्ने खालको कुरा सुनें,” नेपालले भने, “तेस्रो जिल्लाका रूपमा नुवाकोटलाई पनि पारेर सबै तीनै ठाउँ हो भनेर गरिएछ।”
उनले तीन जिल्ला केन्द्रित बजेट कसरी भयो, यसको आधार हुनुपर्ने बताए। “कुनै आधार छ भने त बेग्लै कुरा हो, नत्र कुनै आधारमा त टेक्नै पर्ने थियो,” नेपालले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतसँग जोडिएको कुरा भएकाले यस विषयमा सोधिने बताए। “यो अर्थमन्त्रीसँग जोडिएको, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको कुरा हो?” नेपालले भने।
यस्तै, प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा उनले छलफल गर्ने बताए। “भारत भ्रमणमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिपय कुरा ठीकै छन् भन्ने छ, कतिपय नगरिदिएको भए हुन्थ्यो भन्ने छन्,” नेपालले भने।
उनले यी सबै विषयमा छलफल गर्ने बताए। “पहिले पार्टीका नेताहरूसँग छलफल गर्छु, त्यसपछि प्रधानमन्त्री र गठबन्धनको बैठकमा कुरा हुन्छ,” पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने।