नक्कली शरणार्थी प्रकरण: अभियुक्तका तर्फबाट बहस गर्न ६ दिनको समय
नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाट बहस शुरू भएको छ।
बुधबारदेखि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस शुरू गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए। सरकार पक्षका कानून व्यवसायीको बहस मंगलबार सकिएको थियो।
सरकारी वकीलले तीन दिन बहस गरेका थिए। अब प्रतिवादीतर्फका कानून व्यवसायीले आजदेखि बहस थालेका छन्। प्रतिवादीतर्फका कानून व्यवसायीले बहसका लागि ६ दिनको समय पाएको सूचना अधिकारी दाहालले बताए।
सरकारी वकीलहरूले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुन सक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने तर्क गरेका थिए।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ। यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी लगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ।
तीमध्ये १८ जना पक्राउ परी हिरासतमा छन् भने १२ जना फरार सूचीमा छन्। जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले पक्राउ परेका तथा फरार सहित ३० जनालाई संऊठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको कसूरमा मुद्दा दर्ता गरेको छ। उनीहरूबाट रु.२७ करोड ५० लाख बिगो माग दाबी गरिएको छ।