भारतमा राजकीय भ्रमणभन्दा फरक महसूस गरिनँ: प्रधानमन्त्री दाहाल
भारतको चारदिने भ्रमण औपचारिक भए पनि राजकीय भ्रमण जस्तै महसूस गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठक सांसदहरूले सोधेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा अपमानित भएको भन्ने कुरौ बिल्कुलै नभएको जिकिर गरे। “म बिल्कुल अपमानित भएको छैन। सम्मानित भएको महसूस छ। हामी सबै निकै उत्साहित छौं,” दाहालले भने।
भारत भ्रमणमा जाँदा स्वागतका लागि राज्यमन्त्री आएको विषयमा पनि उनले प्रस्टीकरण दिए। यसअघिका भ्रमणमा पनि राज्यमन्त्रीले नै स्वागत गर्ने गरेको उनको भनाइ थियो। “म दोस्रो पटक भारत जाँदा राजकीय भ्रमण थियो, त्यसमा सुष्मा स्वराज आउनुभएको थियो,” दाहालले भने, “औपचारिक भ्रमणमा आउने राज्यमन्त्री नै हो। कतिपय भ्रमणमा त सचिव आएका छन्।”
यस पटकको भारत भ्रमणमा उच्च सम्मान पाएको उनको भनाइ थियो। “राजकीय भ्रमणभन्दा फरक महसूस गरिनँ। जुन राजकीय भ्रमणमा हुन्थ्यो, त्यस्तै स्वागत थियो,” प्रधानमन्त्री दाहालले भने।
अझ मध्यप्रदेशको इन्दौर पुग्दा विमानस्थलदेखि नै गरिएको स्वागत भव्य रहेको उनले बताए। “इन्दौरमा विमानस्थलमा झर्ने बित्तिकै स्वागत गरियो। चोक चोकमा नाचगान, नाराबाजीले साँच्चै गौरवान्वित महसूस गरेका थियौं,” दाहालले भने।
सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा अपमानित महसूस गरेको भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्री दाहालले भने, “म सम्मानित भएर आएको छु, तपाईं किन अपमानित ठान्नुहुन्छ?”