हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि तीन जनाको शव फेला
गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए।
हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२, च्यार्खुलेकमा गत वैशाख २२ गते यार्सा सङ्कलन गर्न गएका उनीहरू हिउँपहिरोमा परी बेपत्ता भएका थिए।
सोमबार फेला परेका तीनै जनाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल ल्याइएको र शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाई दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए। -रासस