सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश
यसअघि सहकारीकी व्यवस्थापक लीलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दीपक श्रेष्ठ समेत १० जना विरुद्ध आपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरी पाऊँ भनी जिल्ला अदालतमा २०७७ फागुन ४ गते मुद्दा दर्ता गराएकी थिइन्।
धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारीकी प्रबन्धक लीलादेवी पोखरेल अधिकारी विरुद्ध लिखत बमोजिमको रकम दिलाई भराइपाऊँ भनी जिल्ला अदालत धादिङमा दिएको मुद्दाको पक्षमा फैसला भएको छ। विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम हिनामिना गरेको भन्दै सहकारीका तर्फबाट २०७८ असार ३० गते अदालतमा मुद्दा दर्ता भएको थियो।
न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले मंगलबार मुद्दाको फैसला गर्दै सहकारीमा कबूल गरेको रु.५९ लाख २७ हजार सहकारीलाई तिर्न फैसला सुनाएको स्रेस्तेदार खुम भण्डारीले जानकारी दिए।
सहकारीले साना किसान विकास ब्यांकको सहयोगमा हिसाब गरी सावाँ र ब्याज सहित हिसाब फरफारकका लागि मुद्दा दिएको थियो। सो रकम तिर्नका लागि फैसलामा माग दाबी बमोजिम आंशिक दाबी पुग्ने भन्दै फैसला भएपछि किसानको रकम जोगिएको सहकारीका सदस्य नरबहादुर भण्डारीले बताए।
सहकारीकी व्यवस्थापकले साना किसान विकास ब्यांकमा हिसाब बुझाउने गर्दा समस्या देखिएपछि सञ्चालक समिति समेत बसेर जिल्ला अदालतमा मुद्दा शुरू हुनुअघि हिसाब जाँच गरिएको र हिनामिना भएको रकम फिर्ता गर्न अनुरोध गरिए पनि रकम फिर्ता नगरेपछि मुद्दा दायर गरिएको भण्डारीको भनाइ छ।
यसअघि सहकारीकी व्यवस्थापक लीलादेवी पाखरेल अधिकारीले लेखा समितिका अध्यक्ष दीपक श्रेष्ठ समेत १० जना विरुद्ध आपराधिक बल प्रयोगबाट गरिएको करकापको लिखत बदर गरी सजाय गरिपाऊँ भनी जिल्ला अदालतमा २०७७ फागुन ४ गते मुद्दा दर्ता गराएकी थिइन्।
यसैगरी, २०७७ फागुन १० गते हिसाब जाँच गरी दायित्व वहन गराइपाऊँ भनी जिल्ला अदालतमा अधिकारीले मुद्दा दर्ता गराएकामा जिल्ला न्यायाधीश पराजुलीको २०८० जेठ १८ गतेको एकल इजलासले दाबी नपुग्ने ठहर गरेको छ।
सुनौला बजार साना किसान कृषि सहकारी संस्थाले सहकारीका अधिकारीलाई २०७७ देखि नै निलम्बन गरेको थियो। शेयर सदस्यको रकम भएकाले व्यवस्थापकले रकम उपलब्ध गराएपछि शेयर सदस्य किसानको माग बमोजिमको आवश्यकतामा आधारित कृषि ऋण उपलब्ध गराउन सकिने सहकारीले जानकारी दिएको छ। - रासस