जोखिमपूर्ण पेट्रोल पम्प हटाउँदै काठमाडौं महानगर, आयल निगम भन्छ- तत्काल कारबाही गर्न मिल्दैन
काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका र सुरक्षाको दृष्टिले जोखिमपूर्ण पेट्रोल पम्प हटाउने तयारी गरिरहँदा आयल निगम भने योजना नबनाई नयाँ मापदण्डका आधारमा पम्पलाई भटाभट कारबाही गर्नु उचित नभएको बताउँछ।
गत वैशाख २४ गते काठमाडौं महानगरपालिकाले बालाजुको कोत: धुकु आयल स्टोर ‘सिल’ गर्यो। घरको सटरमा सञ्चालन भइरहेको उक्त पेट्रोल पम्प मापदण्ड विपरीत भएको भन्दै महानगरले सिल गरेको थियो। उक्त पेट्रोल पम्प सिल गरेपछि महानगरले अन्य पेट्रोल पम्पलाई पनि कारबाही गर्ने तयारी गरेको छ। सुरक्षाका दृष्टिले जोखिमपूर्ण पेट्रोल पम्पको तथ्याङ्क सङ्कलन भइरहेको महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे बताउँछन्।
पाण्डे भन्छन्, “हाम्रो अध्ययनबाट महानगरभित्र एक दर्जनभन्दा बढी पेट्रोल पम्प सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको थाहा भएको छ, आयल निगमसँग छलफल गरेर हटाउने प्रक्रिया छिटै थाल्छौं।”
यसअघि २०७६ सालमा मन्त्रिपरिषद्ले सुरक्षाका दृष्टिकोणले जोखिममा रहेको भन्दै मुख्य सडक किनार, घना बस्ती र संवेदनशील क्षेत्रका १८ वटा पेट्रोल पम्पलाई स्थानान्तरण गर्ने निर्णय गरेको थियो। तीमध्ये काठमाडौं महानगरभित्रकै १२ वटा पम्प थिए। मन्त्रिपरिषद्ले स्थानान्तरण गर्न भनेका १६ वटा पम्प अझै पनि यथास्थानमै सञ्चालन भइरहेका छन्।
त्यस वेला कालीमाटीको कनक, बालाजुको कोत: धुकु, कलंकीको न्यू बाबा, श्यामा र त्रिशूल, थापाथलीको जयन्ती र मायाराम भोलाराम, कोटेश्वरको भ्याली रिकेश, जडीबुटीको कामख्या, बौद्धको जुबी र बराल तथा महाराजगन्जको सीता पेट्रोल पम्प तुरुन्त हटाउनुपर्ने भनिएको थियो। त्यस्तै, ललितपुर जावलाखेलको साझा, एचपी र गायत्री, चापागाउँको बज्रबाराही, बालकुमारीको बालकुमारी पेट्रोल पम्प तथा टीका भैरवको टीका भैरव डिजेल स्टोर पनि हटाइहाल्नुपर्ने सूचीमा थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि पम्प सार्न नेपाल आयल निगमले पेट्रोल पम्पहरूलाई पत्राचार गरेको थियो। तर, पाँच वर्ष बितिसक्दा दुई वटा पेट्रोल पम्प मात्रै सरेका छन्। नेपाल आयल निगमका अनुसार, सुन्धारास्थित नेपाली सेनाको मुख्यालय प्रवेशद्वार नजिकको पम्प साँखुको बज्रयोगिनीमा सरेको छ भने कलंकीको न्यू बाबा आयल स्टोर थानकोटको वाणभञ्ज्याङ पुगेको छ।
काठमाडौं महानगरपालिकाले ६ वर्षअघि गरेको एक सर्वेक्षणले काठमाडौं उपत्यकामा रहेका १२३ वटा पेट्रोल पम्पमध्ये महानगरभित्रका ६७ वटा पम्प सुरक्षाको हिसाबले जोखिमपूर्ण रहेको देखाएको थियो। महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारी पेट्रोलियम पदार्थ जस्तो प्रज्वलनशील पदार्थको कारोबार असुरक्षित ढङ्गले गर्दा ठूलो दुर्घटना हुन सक्ने बताउँछन्। “दर्जनौं पम्प मापदण्ड विपरीत मुख्य सडक किनार, घना बस्तीको बीचमा सञ्चालन गरिएकाले शहरका लागि हरदम खतरा बनिरहेको छ, आयल निगमसँग छलफल गरेर तिनलाई व्यवस्थापन गर्छौं,” अधिकारी भन्छन्।
के छ मापदण्ड ?
नेपालमा पेट्रोल पम्प सञ्चालन सम्बन्धी मापदण्ड पहिलो पटक २०५५ सालमा बनेको थियो। त्यसलाई २०६५ सालमा संशोधन गरेर २२ वटा मापदण्ड तय गरिएको थियो। साधारण विक्रेताले पालना गर्नुपर्ने भन्दै मापदण्डमा नगरपालिकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमीन हुनुपर्ने उल्लेख थियो। त्यस्तै, पम्पको अगाडिको मोहोडा २० मिटर र चौडाइ १२ मिटर हुनुपर्ने, सवारी आवतजावत गर्न बाधा नहुने गरी संरचना बनाइनुपर्ने, अग्नि सुरक्षाका लागि एक हजार लिटरको पानीट्याङ्की, १० किलो क्षमताका दुई थान फायर इक्सटिङग्विसर र प्रशस्त मात्रामा बालुवा राखिनुपर्ने लगायत प्रावधान उल्लेख थियो।
यो मापदण्ड संशोधन गरी २०७५ सालमा बनाइएको ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली’ अहिले कार्यान्वयनमा छ। यो नियमावलीले पेट्रोलियम बिक्रीस्थलको क्षेत्रफल र बिक्रीस्थलमा हुने पूर्वाधारका आधारमा विक्रेतालाई पाँच वर्गमा राखेको छ। ‘क’ वर्गमा नमूना पम्पलाई राखिएको छ भने साधारण विक्रेता ‘ख’ वर्ग, पेट्रोल विक्रेता ‘ग’, प्याक्ड विक्रेता ‘घ’ र मट्टीतेल विक्रेता ‘ङ’ वर्गमा पर्छन्। काठमाडौं महानगरभित्र भएका अधिकांश पेट्रोल पम्प ‘ग’ वर्गका हुन्। यो वर्गको पेट्रोल पम्प खोल्न न्यूनतम दुई रोपनी आठ आना जग्गा हुनुपर्छ। तर विनियमावलीमा काठमाडौं र ललितपुर महानगरलाई बेग्लै मापदण्ड तोकिएको छ, जस अनुसार यी ठाउँमा पेट्रोल पम्प सञ्चालन गर्न कम्तीमा ७५० वर्गमिटर वा एक रोपनी आठ आना जग्गा हुनुपर्छ। यस्तै, पम्प सडकबाट २० मिटरको दूरीमा हुनुपर्ने तोकिएको छ। काठमाडौं महानगरका अनुसार यो मापदण्ड महानगरका धेरै पेट्रोल पम्पले पालना गरेका छैनन्।
निगम भन्छ- मापदण्ड व्यावहारिक छैन
पेट्रोल पम्पको मापदण्ड तोक्ने, अनुगमन र कारबाही गर्ने जिम्मेवार निकाय नेपाल आयल निगम हो। निगमका प्रवक्ता मनोज ठाकुर काठमाडौंमा सञ्चालनमा रहेका अधिकांश पम्प विद्यमान मापदण्ड बाहिर रहेका स्विकार्छन्। तर, ती पम्प हटाउन योजना बनाउनुपर्ने ठाकुरको भनाइ छ। उनका अनुसार मापदण्ड नपुगेको भन्दै भटाभट कारबाही गर्दै जाँदा काठमाडौंमा पेट्रोलियम आपूर्ति अवरुद्ध हुन सक्छ।
निगमका प्रवक्ता ठाकुर विनियमावली आउनुभन्दा अगाडिका पेट्रोल पम्पले नयाँ मापदण्ड पूरा गर्नुनपर्ने बताउँछन्। ती पम्प शुरूमा मापदण्ड अनुरूप नै चलेको र पछि सडक विस्तार हुँदै जाँदा पम्पहरूको क्षेत्रफल घटेकाले अहिलेको मापदण्डभित्र नपरेको बुझ्नुपर्ने उनको भनाइ छ। यसैले अहिलेकै नियमावली अनुसार मापदण्ड विपरीतका पम्प हटाउने कुरा गर्न नमिल्ने उनी बताउँछन्। “काठमाडौं जस्तो ठाउँमा त्यति धेरै जग्गा र सडक किनार एकै ठाउँमा नपाइने भएकाले त्यो मापदण्ड आफैंमा अव्यावहारिक छ,” उनी भन्छन्।
महानगरले सुरक्षा दृष्टिले जोखिम रहेका पेट्रोल पम्प बन्द गराउने योजना बनाइरहँदा निगम भने बेखबर छ। यो विषयमा हालसम्म महानगरले सल्लाह नगरेको ठाकुर बताउँछन्। एकाएक बन्द गर्नुभन्दा सुरक्षाका दृष्टिले जोखिमपूर्ण पम्प सार्न समय दिन सकिने विकल्प रहेको उनको भनाइ छ। “नयाँ मापदण्ड अनुसार क्षेत्रफल खोज्ने हो भने महानगरभित्रका सबैजसो पम्प अन्यत्र सार्नुपर्ने हुन्छ,” उनी भन्छन्।
दुर्घटनाको सधैं जोखिम
निगमका प्रवक्ता ठाकुरले पहिलेदेखिका पेट्रोल पम्पले नयाँ मापदण्ड पालना गर्न व्यावहारिक नभएको बताए पनि व्यस्त सडकछेउ र बस्तीबीचका पम्पले दुर्घटनाको जोखिम बढाउने पक्ष बिर्सन मिल्दैन। हालसम्म ठूलो दुर्घटना नभए पनि विगतका केही घटनाले सावधानी र सुरक्षा संवेदनशीलता आवश्यक रहेको देखाउँछन्। जस्तै- २०७७ पुस १ गते ललितपुरको ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करमा आगलागी भयो। आगलागीबाट पार्किङ गरिएका चार वटा मोटरसाइकल जले। समयमै अग्नि नियन्त्रक पुगेका कारण ट्याङ्कर विस्फोट हुनबाट जोगियो।
त्यति वेला पेट्रोल पम्प सञ्चालनको सामान्य मापदण्ड पालना नगरेकाले पम्पमा आगो लागेको आयल निगमका तत्कालीन नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका थिए। उपत्यकाका धेरै पेट्रोल पम्पले न्यूनतम सुरक्षा मापदण्ड पूरा नगरेकाले पम्प नजिकका घर र बस्ती जोखिममा रहेको उनको भनाइ थियो।
यसैगरी, २०७२ सालमा काठमाडौं हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा रहेको पेट्रोल पम्पमा आगलागी भएको थियो। पेट्रोल भरेर बाइक स्टार्ट गर्न लाग्दा प्लगबाट निस्केको आगोको झिल्काबाट आगलागी भएको थियो। आगलागीबाट दुई बाइक र एक कारमा क्षति पुगेको थियो। सशस्त्र प्रहरी बलकै अग्नि नियन्त्रक भएकाले ठूलो क्षति हुनबाट जोगिएको थियो।
२०७४ कात्तिक २२ गते काठमाडौंको त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकैको आलम मेकानिकल वर्कशपमा आगलागी हुँदा एक जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए। नेपाल प्रहरी, नेपाली सेना लगायतको अग्नि नियन्त्रक टोलीले त्यहाँको आगलागी नियन्त्रणमा लिएको थियो। आगो निभाउन ढिला भएर पेट्रोल पम्पसम्म फैलिएको भए व्यस्त र घना बस्ती भएको त्यो ठाउँमा क्षति अकल्पनीय हुन सक्थ्यो।
२०७३ भदौ ९ मा बल्खुस्थित दक्षिणकाली पेट्रोल पम्पमा विद्युत् शर्ट भई आगलागी हुँदा तीन कामदार, प्रहरी र गाडी चालक घाइते भएका थिए। २०७४ असारमा भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ पेट्रोल पम्पमा आगलागी हुँदा चार जना घाइते भएका थिए। आगलागीबाट ठूलो भौतिक क्षति भएको थियो।
असुरक्षित पेट्रोल पम्पले जुनसुकै वेला जोखिम निम्त्याउन सक्छ भन्ने यी त केही उदाहरण मात्रै हुन्। यसअघि उपत्यका तथा उपत्यका बाहिर एक दर्जनभन्दा बढी पेट्रोल पम्पमा आगलागी भइसकेको छ। पेट्रोल पम्पले न्यूनतम मापदण्ड पालना नगर्दा ती आगलागीका घटना भएको अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराई बताउँछन्।
भट्टराई काठमाडौं महानगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख हुँदा उपत्यकाका पेट्रोल पम्पको अवस्थाबारे अध्ययन गरेका थिए। २०३४ सालदेखि स्थापना भएका पेट्रोल पम्प सञ्चालनमा रहेकाले जोखिम रहेको उनको अध्ययन निष्कर्ष थियो। उपत्यकाका अधिकांश पेट्रोल पम्पले मापदण्ड पालना नगरेकाले पम्प छेउछाउका घना बस्ती जोखिममा रहेको उनी बताउँछन्।
“पेट्रोल पम्पहरूलाई मापदण्ड अनुसार सञ्चालन गराउन संवेदनशील नहुने हो भने उपत्यकामा कुनै पनि वेला ठूलो दुर्घटना निम्तिन सक्छ,” उनी भन्छन्।
नेपाल आयल निगमको मापदण्ड अनुसार आगो फैलिएर नजिकैको पम्पमा थप क्षति नहोस् भनेर दुई पेट्रोल पम्पबीचको दूरी कम्तीमा १० किलोमिटर हुनुपर्ने हुन्छ। तर, काठमाडौंको घना बस्ती र व्यस्त सडकका बीचमा कतिपय ठाउँमा एक किलोमिटरमा भित्रै तीन वटासम्म पम्प सञ्चालनमा छन्। त्यस्तै, कतिपय पेट्रोल पम्प हाइटेन्सन लाइनको मुनि भएकाले पनि जोखिम ठूलो छ।
आगलागी लगायत विपत्ति हेर्ने काठमाडौं महानगरपालिकाको महानगरीय आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग पनि सम्भावित विपद् नियन्त्रण गर्ने प्रभावकारी उपाय छैन। महानगरका सहायक प्रवक्ता दीपक अधिकारी प्रत्येक एकदेखि तीन किलोमिटर दूरीमा खोलिएका पम्पमा आगलागी भएमा निभाउन पर्याप्त साधन नभएको बताउँछन्। उनका अनुसार निगमले एउटा पेट्रोल पम्पमा १० केजी तौल भएका चार अग्नि नियन्त्रण यन्त्र, चार बाल्टिन पानी, बालुवा, गिट्टी अनिवार्य राख्नुपर्ने मापदण्ड तोके पनि काठमाडौंका धेरै पम्पमा यी पूर्वाधार छैनन्।