द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस
समाजसँग जुध्दै परिवार सम्हालेर व्यवसायी एवं गाउँकै अगुवा बनेकी जुम्लाकी तारा परियारलाई सशस्त्र द्वन्द्वमा श्रीमान्, देवर र नन्द गुमाएको पीडाले भने अझै पनि कोतरिरहन्छ।
न टेक्ने खुट्किलो न समाउने हाँगो। कुनै वेला तारा परियारलाई जिन्दगी नै कहालीलाग्दो भीरमा अड्किए झैं लागेको थियो। भविष्य सोच्दा निराशा र अँध्यारो मात्र देख्थिन्।
एक दिन पति आँखैअघि रक्ताम्मे भएर ढले। तीन सन्तान अनि सासूससुरासम्मको जिम्मेवारी अचानक उनकै काँधमा आयो। एक त दलित परिवार, त्यसमाथि महिला। समाज सजिलो थिएन। जता हेर्यो, अन्योल मात्र थियो।
ठीक १८ वर्षपछि। तारा थुप्रै भीर छिचोल्दै घरबाट दैनिक दुई घण्टाको बाटो आउजाउ गर्छिन्। पैताला पटपटी फुटेका छन्। तर, अहिले निराशा छैन। बाटो स्पष्ट छ। मध्य जेठमै बगानभरि स्याउ लटरसम्म भइसके। तिनैले उनलाई ठूलो भरथेग दिएका छन्। ताराले योजना बनाइसकिन्- अबको तीन-चार महीनामा स्याउ बजार पुर्याइसक्ने, त्यसैलाई बेचेर घरखर्च जुटाउने।
जुम्लाको तिला गाउँपालिका-२, लिहीकी ४२ वर्षीया ताराले स्याउखेती थालेको धेरै भएको छैन। पहिलो खेपको उत्पादन बजार पुर्याएकै अघिल्लो वर्ष मात्र हो। त्यसअघि ज्याला-मजदूरी गरेर परिवार पाल्थिन्। बारीमा त्यसै खेर गइरहेको स्याउलाई व्यवसाय नै बनाउन सकिन्छ भन्ने थाहा पाएको पनि पाँच वर्षअघि मात्र हो।
शुरूमा त त्यो पनि ठूला व्यवसायीले मात्र गर्ने होला भन्ने ठानेकी थिइन्। अर्कातिर, रोपेपछि कम्तीमा पाँच वर्ष कुर्नुपर्ने र यो अवधिमा बिरुवा जोगाउनै मुश्किल हुने भएकाले त्यति उत्साही थिइनन्। पछिल्ला वर्ष जुम्लामा कहिले सुक्खा त कहिले असिनापानीले बालीमा व्यापक क्षति पुर्याउँदै आएको थियो। यस्तोमा ५० देखि दुई सय रुपैयाँसम्म खर्चेर लगाइएका बिरुवा खेर जानु कमजोर आर्थिक अवस्था भएकी उनका लागि ठूलै क्षति हुन सक्थ्यो।
सरकारले कर्णालीका हिमाली जिल्लामा स्याउ लगायत कृषिजन्य सामग्रीमा निर्जीवन बीमा कार्यक्रम लागू गरिदिएपछि भने तारालाई आँट आयो। यसमा सरकारले ८० र बीमितले २० प्रतिशत रकम भुक्तानी गर्ने व्यवस्था छ। कर्णालीका जुम्ला, मुगु र कालिकोटमा चलाइएको यो कार्यक्रम अन्तर्गत मौसमी कारणले उब्जनीमा नोक्सानी पुगे बीमाबाट क्षतिपूर्ति पाइन्छ।
यससँगै विश्व खाद्य कार्यक्रम अन्तर्गतको खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन अनुकूलन (क्याफ्स) परियोजनाले २५ वटा बिरुवा निःशुल्क उपलब्ध गरायो। पाँच वटा बोट बारीमा पहिल्यै थिए। ताराले थप २० वटा बिरुवा खरीद गरिन्।
अब उनका बारीमा ५० बोट भए। तीमध्ये १६ वटाको ४० रुपैयाँका दरले बीमा गरिन्। इन्सुरेन्सले दुई कारणले बोटमा क्षति पुग्दा भुक्तानी दिने गरेको छ। पहिलो- असिनापानी, दोस्रो- सुक्खा याम।
चैत १५ देखि जेठ १५ सम्म ७० मिलिमिटरभन्दा कम पानी परे सुक्खा याम मानिने र त्यसै अनुसार किसानलाई रकम भुक्तानी गरिने बीमा कार्यक्रमको सहयोगी संस्था ‘पेश नेपाल’ का निर्देशक किशोर न्यौपाने बताउँछन्। पछिल्लो वर्ष ताराले असिनापानीले १६ वटा बोटमा क्षति पुग्दा चार हजार ५०० सय रुपैयाँ बुझेकी छिन्। उनी भन्छिन्, “त्यो पैसाले अरू बिरुवा किनें।”
मौसमले साथ नदिंदा पनि उनले अघिल्लो वर्ष २०० केजी स्याउ बेचिन्। त्यसबाट १२ हजार रुपैयाँ आम्दानी भयो। यस पालि बोट थपेर सय वटा पुर्याएकी छन्। यस वर्ष १२ सयदेखि १३ सय केजीसम्म स्याउ फल्ने उनको अनुमान छ जसबाट जुम्लामा चल्तीको ६० रुपैयाँ प्रतिकिलोका दरले ७२ देखि ७४ हजारसम्म आम्दानी हुन सक्छ।
बचेको थोरै जमीनमा तारा धान र कोदो रोप्छिन्। खरायो र स्थानीय जातका कुखुरा पनि पालेकी छन्। उनका अनुसार खरायो हुर्केपछि प्रतिगोटा रु.६०० र कुखुरा रु.८०० सम्ममा बिक्री हुन्छन्। यी सबै उद्यमले परिवार धान्न भरथेग गरेका छन्।
“पहिला खान नपुग्दा त काम गरियो, अहिले त पेटभरि खान पुग्छ। त्यसैले यति संघर्ष हिमाली जीवनमा सामान्य हो,” उनी भन्छिन्।
तारा वेलावेला सामुदायिक सेवा केन्द्रको निर्माणकार्यमा पनि खटिन्छिन्। उनले भर्खरै ‘क्याफ्स कर्णाली’ अन्तर्गतको परियोजनामा पनि तिला खोलाको पानी सिंचाइबाट गाउँ गाउँमा पुर्याउने पूर्वाधार निर्माणमा काम गरिन्। त्यहाँ झन्डै एक महीना खट्दा १८ हजार रुपैयाँ आम्दानी गरेको बताउँछिन्।
यससँगै उनी गाउँमा धेरै महिलाका लागि प्रेरणा बनिरहेकी छन् । स्याउखेती र सरकारी बीमाबारे गाउँलेलाई बुझाउँछिन्। दुई साताअघि सुर्खेतमा विश्व खाद्य कार्यक्रमको ६०औं वार्षिकोत्सव कार्यक्रममा उनले लिही गाउँकी एक्ली कामकाजी महिलाका रूपमा सहभागिता जनाइन्। “स्याउखेतीबारे बुझ्न गाउँका दिदीबहिनी आउनुहुन्छ,” भन्छिन्, “छिमेकीले पनि स्याउको बीमा गराउन थालेका छन्।”
वियोगान्त विगत
२०६२ असार ११ को बिहानैदेखि लिहीमा बर्खे झरी दर्किरहेको थियो। अघिल्लो राति गाउँमा सेना आएपछि माओवादी कार्यकर्ता नजिकैको नुन्दिना डाँडामा लुक्न गएका थिए। ताराका अनुसार पति हरिलाललाई २०५५ सालमा माओवादीले जबर्जस्ती कार्यकर्ता बनाएका थिए। “त्यो राति नभाग्नू, घरमै बस्नू भनेको थिएँ। तर, अरू भागेपछि उहाँ पनि भाग्नुभयो,” उनी सम्झिन्छिन्।
चिन्ताले तारा रातभर निदाउन सकिनन्। बिहान ६ बजेतिर भान्सामा काम गर्दै थिइन्। एक्कासि ड्याङड्याङ...आवाज आयो। आत्तिँदै बाहिर निस्किइन्। सैनिकहरू उनकै पतिलाई बन्दूक ताकिरहेका थिए। हेर्दाहेर्दै छातीमा चार वटा गोली बर्साए। पति रगतपच्छे भएको देखेपछि उनी दैलामै ढलिन्। गाउँमा सन्नाटा छायो। मानिसहरू घरभित्रै लुके।
साँझ उनको होश खुल्दा सेनाले पतिको लास तिला खोलाको किनारमा गाडिसकेको थियो। “पछि सासूससुरा र मैले आफैं अन्त्येष्टि गर्छौं, एक चोटि मुख हेर्न देऊ भन्दा पनि मानेनन्,” सम्झेर उनी भावविह्वल हुन्छिन्।
त्यसअघि २०६० सालमा देवर खड्का परियार र २०६१ सालमा नन्द सोपना पनि सेनाबाटै मारिएका थिए। ताराका अनुसार सोपनाको बलात्कारपछि हत्या भएको थियो।
तीन वर्षमा पति सहित परिवारका तीन सदस्य गुमेपछि तारा हताश भइन्। गाउँलेहरू तारालाई नै ‘अलच्छिना’ भनी तिरस्कार गर्न थाले। “कति पटक त आत्महत्या गर्ने सोचें। तर, चिचिला छोराछोरीको अनुहार सम्झेर मर्न सकिनँ,” उनी भक्कानिइन्।
भए जति सन्तान मारिएपछि सासू जयवेला मानसिक रोगी भइन्। ससुरा रूपक विक्षिप्त भए। बाबुको हत्या हुँदा ताराका जेठा छोरा मुनाल आठ वर्ष, छोरी शारदा ६ वर्ष र कान्छो उपहार जम्मा सात महीनाका थिए। त्यति वेला जेठो छोरा र छोरीको पढाइ छुटेको उनी बताउँछिन्।
दुई वर्षपछि उनीहरूलाई द्वन्द्वपीडितका लागि तोकिएको दाङस्थित शहीद स्मृति आदर्श मावि लगियो। त्यति वेला आमाले भोको पेट बसेर पनि आफूहरूलाई खान-लाउन पुर्याएको मुनाल सम्झन्छन्। उनी भन्छन्, “समाज अहिले जस्तो थिएन। घरमा छोरा मान्छे आउँदा पनि विभिन्न आरोप लगाएर आमालाई रुवाउँथे। सहारा भन्ने केही थिएन।”
काठमाडौं देख्ने रहर
अब त तारा हजुरआमा बनिसकिन्। जेठो छोराको चार महीनाअघि मात्र छोरी जन्मिएकी छन्। सुर्खेतमा बसेर कोरियाली भाषा पढ्दै गरेका मुनाल वैदेशिक रोजगारीमा गएर परिवारलाई भरथेग गर्ने योजनामा छन्। कान्छा उपहार कक्षा ११ मा पढ्छन्। छोरी शारदाको विवाह भइसक्यो।
परिवारले लय समात्दै जाँदा तारालाई आफ्नो काममा अझ व्यावसायिक भएर अघि बढ्ने जोश मिलेको छ। “खानलाउन पुग्ने त छँदै छ। जेठो छोरा र छोरीलाई धेरै पढाउन सकिनँ। अब नातिनीलाई पढाएर त्यो सपना पूरा गर्नु छ,” उनी भन्छिन्।
उनलाई एउटा कुरा चाहिं अझै पनि खट्किरहन्छ। पति हुन्थे त शायद विभेद र लाञ्छना यति धेरै भोग्नुपर्दैनथ्यो। “त्यति वेला माओवादीले समानताकै लागि लडेको भन्थे, तर समाज अझै पनि छोरी मान्छेका लागि सहज भएको छैन,” उनी भन्छिन्।
त्यस्तो माहोलमा एक्लै परिवार सम्हाल्ने साहस भने उनलाई पतिबाटै मिलेको रहेछ। “महिला सक्षम हुनुपर्छ, कसैका अघि बोल्न डराउन हुन्न भन्नुहुन्थ्यो। कखरा पनि उहाँले नै सिकाउनुभयो,” उनी सम्झिन्छिन्। तर, त्यति वेला माओवादीले पति, देवर र नन्दलाई जबर्जस्ती लैजाँदा पनि बोल्न नसकेकोमा उनलाई पछुतो छ।
अब ताराको एउटै ध्याउन्न छ- स्याउखेती अझ बढाएर धेरै आम्दानी गर्ने। अनि गाउँबाट करीब ९०० किलोमिटर परको संघीय राजधानी काठमाडाैं घुम्ने। मुसुक्क हाँस्दै भन्छिन्, “जुम्लामा लडेर पनि माओवादी काठमाडौं नै गए। अरू नेता पनि त्यहीं बस्छन्। कस्तो चाहिं होला त्यो शहर? हेर्न मन छ।”