पूर्व नासुको दक्षता मात्रै प्रयोग गरिएको होेः अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विभागका पूर्व नासु रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्ने जिम्मेवारी मात्रै दिइएको बताएका छन्।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री महतले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा निर्णय प्रक्रियामा पूर्व नासु श्रेष्ठको कुनै भूमिका नभएको बताए। तीन दशकदेखि काम गरिरहेका व्यक्तिको दक्षता मात्रै प्रयोग गरेको उनको भनाइ छ।
“आधिकारिक रूपमा निर्णय भएका करका दरलाई आधिकारिक व्यक्तिको आदेश अनुसार भर्ने काम गरेका हुन्,” अर्थमन्त्री महतले भने, “मन्त्री र सचिव आफैं टाइप गर्न बस्दैनन्। उनले इन्ट्री गर्ने काम मात्रै गरेका हुन्। निर्णय प्रक्रियामा उनको हात छैन।”
आफूहरूको इमानदारीमा रत्तिभर शङ्का नगर्न पनि उनले आग्रह गरे। मन्त्री महतले भने, “इमानदारीमा एउटा पनि रौं हल्लिएको छैन, त्यही भएर निजी स्वार्थ भएकाहरू पछि लागेका छन्, कुरा यही हो, योभन्दा अर्को कुरै छैन।”