माओवादी केन्द्रले फिर्ता लियो कोशी प्रदेश सरकारलाई दिएको समर्थन
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)को अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको प्रदेश पदाधिकारीको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशन बमोजिम प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष देवान किराँतीले जानकारी दिए। प्रदेश सरकारमा माओवादीका तर्फबाट दुर्गा चापागाईं र जीवन आचार्य मन्त्री छन्।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। माओवादी, राप्रपा र जसपाको समर्थनमा पुस २५ गते एमालेका कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो। अब सरकारमा ४६ र प्रतिपक्षमा ४७ सांसद रहने भएका छन्।
प्रदेशमा कुल ९३ मध्ये एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन्। सरकार बनाउन ९३ जना सांसदको ५१ प्रतिशत अर्थात् ४७ सांसदको समर्थन आवश्यक पर्छ।
सरकार फेरबदलमा माओवादीबाट सभामुख बनेका बाबुराम गौतम निर्णायक हुनेछन्।