रावाबेसी गाउँपालिकाले दियो विधुरलाई मासिक भत्ता
भत्ता पाउन नेपाल सरकारको सेवासुविधा नलिएको, गैरसरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्तिभरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्छ।
खोटाङको रावाबेसी गाउँपालिकाले श्रीमतीको मृत्यु भएपछि एकल जीवन बिताइरहेका ४५ वर्षमाथिका विधुरलाई मासिक एक हजार भत्ता दिएको छ। गाउँपालिकाले २०७९ साउन १ गतेदेखि लागू हुने गरी विधुरलाई मासिक भत्ता दिएको हो।
गाउँपालिकामा श्रीमतीको मृत्यु भएपछि एक्लै बसिरहेका ४५ वर्षमाथिका २४ जना विधुर छन्। त्यसमध्ये २३ जनालाई सोमबार चेक मार्फत एकमुष्ट भत्ता वितरण गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख गिरिराज रानाले बताए। ब्यांक खाता नभएका कारण एक जना भने भत्ता लिनबाट छुटेका छन्।
पञ्जीकरण शाखाका अनुसार गाउँपालिकाको वडा नं. १ नम्बर, कुभिन्डेमा तीन जना; वडा नं. २ नम्बर, खार्पामा तीन जना; वडा नं. ३ लामीडाँडामा ६ जना; वडा नं. ४, डुम्रेधारापानीमा ६ जना; वडा नं. ५, दुबेकोलमा तीन जना र वडा नं ६, हौंचुरमा चार जना विधुर छन्। उनीहरूलाई प्रत्येक तीन महीनामा सम्बन्धित व्यक्तिकै खातामा भत्ता जम्मा गरिदिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।
विधुरलाई भत्ता उपलब्ध गराउन गाउँपालिकाले गत असार १९ गते विधुर भत्ता कार्यविधि, २०७९ पास गरेको थियो। भत्ता पाउन नेपाल सरकारको सेवासुविधा नलिएको, गैरसरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्तिभरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्नेछ।
खार्पा र लामीडाँडाका विधुरलाई प्रभु ब्यांकको लामीडाँडा शाखाबाट र अन्य वडाका विधुरलाई राष्ट्रिय वाणिज्य ब्यांकको शाखा कार्यालय, हरमटारबाट भत्ता वितरणको व्यवस्था मिलाइएको छ।