लुम्बिनीमा बढे पर्यटक, पाँच महीनामा चार लाख ७० हजार भित्रिए
सन् २०२३ को पहिलो पाँच महीनामा लुम्बिनी आएका पर्यटकको संख्या सन् २०२२ को सोही अवधिमा आउनेभन्दा एक लाख आठ हजार ४८६ ले बढी छ।
लुम्बिनीमा पछिल्लो पाँच महीनामा चार लाख ७० हजार ५४२ पर्यटक भित्रिएका छन्। सन् २०२३ को जनवरीदेखि मे महीनासम्मको अवधिमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका समेत गरी सो संख्यामा पर्यटक लुम्बिनी भित्रिएका हुन्।
सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। अर्थात् गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या एक लाख आठ हजार ४८६ ले बढी छ।
पछिल्लो पाँच महीनामा तीन लाख २४ हजार २६८ जना नेपाली, एक लाख ११ हजार ८६१ जना भारतीय र अन्य ६७ देशका ३४ हजार ४१३ जनाले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ। गत वर्ष दुई लाख ८९ हजार ५९४ नेपाली, ६९ हजार ७७५ भारतीय र अन्य देशका दुई हजार ६८७ जनाले लुम्बिनी भ्रमण गरेका थिए।
पछिल्लो पाँच महीनामा थाइल्यान्डका आठ हजार २४७, श्रीलंकाका पाँच हजार ७२१, म्यानमारका पाँच हजार ३९८, भियतनामका तीन हजार २३५, कोरियाका दुई हजार ६२९, चिनियाँ एक हजार २०८ र अन्य देशका सात हजार ६७५ जनाले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी नेपालको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। हाल लुम्बिनीमा पर्यटक बढेसँगै पर्यटन व्यवसाय पनि गुलजार भएको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय) लुम्बिनीमा पर्यटक संख्याको वृद्धि हुनु पर्यटन उद्योगका लागि सकारात्मक सन्देश रहेको बताए।
उनले भने, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आय सम्बन्धी अवसर प्रदान गर्दछ।”
उनका अनुसार कोषले उपलब्ध गराएको पर्यटकको तथ्याङ्क पनि मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो। मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक अझ बढी रहेको उनले बताए। -रासस