रावाबेसी गाउँपालिकाको केन्द्र हरमटार नै रहने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले खोटाङको रावाबेसी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद टुङ्ग्याएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गाउँपालिकाको केन्द्र कुभिन्डेको हरमटार कायम रहनेगरी सोमबार अन्तिम फैसला सुनाएको हो। सर्वोच्चले गाउँपालिकाको केन्द्र विरुद्ध परेको रिट निवेदन खारेज गरिदिएको छ। सर्वोच्चको फैसलाले गाउँपालिकाको केन्द्रका विषयमा पाँच वर्षदेखि भइरहेको विवाद टुङ्ग्याएको छ।
राज्य पुनःसंरचनाका क्रममा रावाबेसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा (रावाबेसी गाउँपालिका-२) निर्धारण गरिएको थियो। तर, २०७४ सालमा निर्वाचित गाउँपालिका अध्यक्ष लिलानाथ निरौला नेतृत्वको स्थानीय सरकारले लामीडाँडा गाउँपालिकाको नाम रावाबेसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो।
त्यस विरुद्ध मोतीलाल मगरले २०७५ वैशाख ६ गते रिट दायर गरेका थिए। जसले गर्दा अहिलेसम्म केन्द्रबारे अलमल थियो।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ। हालका गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ नेतृत्वको स्थानीय सरकारले पनि गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको थियो।