प्राध्यापक आचार्यलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान
युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक जयराज आचार्यलाई प्रदान गरिएको छ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११२औं जन्मजयन्तीका अवसरमा सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्राध्यापक आचार्यलाई पुरस्कार प्रदान गरेका हुन्। भाषा, साहित्य र कूटनीतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो।
युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित यस पुरस्कारको राशि एक लाख नगद सहित सम्मानपत्र रहेको छ।
त्यस्तै, यस वर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार नगद सहित सम्मानपत्र रहेको छ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्दै आएको छ। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्रा.डा. मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए।