नागरिकता विधेयक पुनः संसद्मा ल्याउनुपर्छ: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले अघिल्लो संसद्ले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमण सफल हुन नसकेको ओलीको टिप्पणी थियो। उनले प्रधानमन्त्रीको भारत भ्रमणमा फितलो प्रदर्शन भएको बताए।
भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्त्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि बैठकस्थलमा नदेखिने गरेकाले भारतको औपचारिक भ्रमण फितलो हुन पुगेको उनको भनाइ थियो।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले असंलग्न परराष्ट्र नीतिलाई नेपालले बिर्सन नहुने सुझाव पनि दिए। बाङ्लादेश मोडेलमा सीमा समस्या हल गर्न खोजिएको भन्ने चर्चा बजारमा सुनिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो कुरा सोच्न पनि नसकिने बताए।
यस्तै, उच्चस्तरीय भ्रमणका समयमा छिमेकीसँग आफ्नो जमीन मिचिएकोदेखि लिएर आफूलाई परेका सबै अप्ठ्याराहरूलाई राख्नुपर्ने उनको सुझाव थियो। नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकको सीमाको नक्शा दुवै सदनबाट सर्वसम्मतले पारित भएको र ब्रिटिश संसद्मा रहेको प्रमाणले पनि यसको पुष्टि गर्ने बताए।