हिन्दू राष्ट्रबारे मोदीसँग कुरै भएन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पूर्व राजा र हिन्दू राष्ट्रबारे कुनै कुराकानी नभएको प्रस्टीकरण दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदले गरेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले प्रस्टीकरण दिएका हुन्। सांसदहरूले भारत भ्रमणका क्रममा पूर्व राजा र हिन्दू राष्ट्रका विषयमा कुराकानी भयो कि भनेर प्रश्न गरेका थिए।
“राजाका बारेमा बिल्कुल कुरा भएन,” प्रधानमन्त्री दाहालले भने, “न राजाको बारे एक शब्द उच्चारण भयो न त हिन्दू राष्ट्रबारे एक शब्द उच्चारण भयो।”
भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटवार्तामा पूर्व राजा र हिन्दू राष्ट्रको प्रसङ्ग नै ननिस्केको बताए। “हामी त्यसमा प्रवेश नै गरेनौं,” दाहालले भने।
भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरिएको पूजाबारे पनि सांसदले प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्री दाहालले आफू धर्मनिरपेक्ष मान्यता राख्ने व्यक्ति भएको बताए। “म धर्मनिरपेक्ष हुनुपर्छ भन्ने मान्छे हुँ,” दाहालले भने, “धार्मिक पर्यटनका विषयमा बुझ्न महाकालेश्वर मन्दिर पुगेको हुँ।”
त्यहाँ गेरुवा वस्त्र लगाएको प्रश्नमा पनि दाहालले प्रस्टीकरण दिएका छन्। सन् २०२२ देखि गेरुवा वस्त्र लगाएका मान्छेलाई मात्रै मन्दिर प्रवेश गर्ने नियम भएकाले आफूले पनि गेरुवा वस्त्र लगाएको उनको भनाइ थियो।