मुर्रा भैंसी कति लाभदायक?
अहिले चर्चामा रहेको मुर्रा राँगो यसअघि पनि भारतबाट ल्याइएको थियो। यो के हो र किसानलाई लाभदायक छ कि छैन?
प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा चर्चामा आएको एउटा विषय हो, मुर्रा भैंसी। तर, भारत सरकारले नेपाललाई मुर्रा राँगो उपलब्ध गराउन लागेको हो।
भारतले दिने उच्च प्रजनन मानका १५ वटा मुर्रा राँगो केही समयमा नेपाल आउने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
यसबारे विवाद भएपछि कृषि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर प्रस्टीकरण दिएको छ। सन् २०१८ मा नै नेपाल-भारत संयुक्त कृषि प्राविधिक कार्य समूह (जेएडब्लूजी)को बैठकमा भएको निर्णय अनुसार नेपाल सरकारले विभिन्न समयमा औपचारिक तथा अनौपचारिक तवरबाट भारत सरकारसँग उच्च प्रजनन मानका ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको कृषि मन्त्रालयले जनाएको छ।
जस अनुसार सन् २०२० मा भारतको मिनिस्ट्री अफ एनिमल हस्बेन्ड्रीलाई उच्च प्रजनन मान भएको बीउ राँगो आपूर्तिका लागि औपचारिक रूपमा नेपाल सरकारले प्रस्ताव गरेको थियो। नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिम नै १५ वटा उच्च नश्लका मुर्रा प्रजातिका पाडाहरू भारतीय पक्षले उपलब्ध गराउन लागेको जनाइएको छ।
यसरी प्राप्त हुने राँगाका सम्बन्धमा प्राविधिक निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जनाएका छन्। प्राविधिक पक्ष टुङ्गिएपछि भारतीय पक्षले नेपालको भन्सार नाकासम्म राँगा ल्याइदिने सञ्जेलको भनाइ छ।
यसरी प्राप्त राँगालाई पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। यी १५ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराई नश्ल सुधार गर्ने र यसले भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयको भनाइ छ।
कस्तो हुन्छ मुर्रा भैंसी?
सरकारले भारतबाट १५ वटा मुर्रा राँगा ल्याउने विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मुर्रा प्रजातिको राँगाबाट कृत्रिम गर्भधान गराई नश्ल सुधार गर्न सके लाभदायक हुने किसान अगुवाहरू बताउँछन्।
भारतमा मुर्रा प्रजातिको भैंसी किसानले असाध्यै मन पराइरहेका छन्। उत्तर प्रदेशको भदावरी, आगरा एवं इटवामा मुर्रा प्रजातिको नश्लको उत्पादन भएको मानिन्छ। हाल हरियाणा, पञ्जाब, राजस्थान लगायत राज्यका किसानले मुर्रा प्रजातिको भैंसी पालेर लाभ लिइरहेका छन्।
मुर्रा भैंसी पूर्ण रूपमा कालो रङको हुन्छ। पातलो र मुलायम छाला हुने मुर्रा भैंसीको सिङ चेप्टो र घुमाउरो, निधार सानो र चेप्टो, गर्धन लामो र पातलो अनि कल्चौंडो नाइटोदेखि पछाडि खुट्टाभन्दा बाहिरसम्म हुन्छ।
मुर्रा सामान्य भैंसीको तुलनामा तीन गुणा बढी दूध दिने प्रजाति हो। खानपानमा विशेष ध्यान दिन सक्ने हो भने दैनिक २५ लिटरसम्म दूध दिने किसान बताउँछन्।
मुर्रा भैंसीका लागि खानपानमा विशेष ध्यान दिनैपर्छ। यसलाई प्रोटिन, क्याल्सियम, फोसफरस, भिटामिन ‘ए’ प्रशस्त पाइने खानेकुरा खुवाउनुपर्छ। घाँस, भुसा, दाना, मकै, गहुँ, गहुँको चोकर, ढुटो, जौ, बदाम, तिल, सोयाबिन, आलस, तोरी, सूर्यमुखी, बिग्रेको आलु समेत खुवाउन सकिन्छ।
नेपाली किसानका लागि लाभदायक कि हानिकारक?
नेपालमा स्थानीय, लिमे, पार्कोटे, गड्डी, निली रभी लगायत विभिन्न प्रजातिका भैंसी पाल्ने गरिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपालमा पालिने उन्नत प्रजातिका भैंसीमा अधिकांश मुर्रा प्रजातिका वर्णसंकर भैंसी रहेका छन्। यी भैंसीको सरदर दूध उत्पादन प्रतिबेत एक हजार ५०० लिटर, वयस्क भैंसीको सरदर तौल ४३० देखि ५०० किलोग्राम र वयस्क राँगोको तौल ५३० देखि ५७५ किलोग्राम हुने गरेको छ। मुर्रा प्रजातिको राँगाबाट प्राकृतिक गर्भाधान वा मुर्रा प्रजातिको राँगोको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधानको विधिबाट प्रजनन गरिन्छ।
पोखराका आकाश तिमल्सिनाले चार वर्षदेखि मंगलम् कृषि फार्ममा पशुपालन गर्दै आएका छन्। फार्ममा १५० गाईभैंसी छन्। तिमल्सिनासँग मुर्रा प्रजातिको राँगाबाट नश्ल सुधार गरिएका भैंसी पनि छन्। सरकारले मुर्रा प्रजातिको राँगा ल्याई वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधान गराएर नश्ल सुधार गर्न लागेको सुन्दा उनी खुशी छन्।
सही तरीकाले राख्ने र खानपानको उचित व्यवस्थापन गर्दा मुर्रा प्रजातिका राँगाबाट गर्भाधान गराइएका भैंसीबाट मनग्य आम्दानी लिन सकिने तिमल्सिना बताउँछन्। “भारतको हरियाणा र नेपालको तराई क्षेत्रको भौगोलिक अवस्था र हावापानी उस्तै छ। सरकारले गर्न खोजेको एकदमै राम्रो काम हो,” कृषक तिमल्सिना भन्छन्, “प्रभाव कस्तो आउँछ, त्यो हेर्न पर्खनै पर्छ। काम सफल भयो भने नेपाली पशुपालक किसानलाई एकदमै राम्रो हुन्छ।”
उनी खानपिनमा ध्यान दिने हो भने नेपालमा पनि मुर्रा प्रजातिको भैंसी पाल्न सकिने बताउँछन्। अन्य प्रजातिका भैंसीभन्दा मुर्राले धेरै गुणा बढी दूध दिइरहेको उनी सुनाउँछन्। नश्ल सुधारसँगै अध्ययन अनुसन्धानमा पनि जोड दिनुपर्ने र किसानलाई मुर्रा प्रजातिको भैंसी भारतबाट सजिलै ल्याउन सक्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ।
मुर्रा प्रजातिको राँगोबाट नश्ल सुधार गर्न सजिलो हुने विज्ञ बताउँछन्। राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराको राँगो-साँढे व्यवस्थापन तथा जमेको वीर्य उत्पादन शाखाका सुपरिवेक्षक वरिष्ठ पशु विकास अधिकृत डा.खगेन्द्र सापकोटा यसले किसानलाई फाइदा हुने बताउँछन्।
नश्ल सुधार गर्न सजिलो: डा.खगेन्द्र सापकोटा
अहिले नेपालमा उन्नत भनेर पालिएका अधिकांश भैंसी मुर्रा क्रस नै हुन्। भारतबाट यसअघि पनि आइरहेको हो, किसानले पनि पशु सेवा विभागबाट अनुमति लिएर ल्याइराखेका छन्। भैंसी ल्याएर नश्ल सुधार गर्न गाह्रो हुन्छ। भैंसीलाई पाल्नुपर्छ, १० महीना १० दिनमा बल्ल ब्याउँछ। पाडीले तीन वर्ष नभई भाले खोज्दैन। त्यसको पुस्तान्तरण गर्न ढिलो हुन्छ।
भाले ल्याइसकेपछि नै वीर्य सङ्कलन गर्ने हो। कृत्रिम गर्भाधान गरियो भने स्थानीय प्रजातिको उत्पादन क्षमता कम हुन्छ। दिनको पाँच लिटरभन्दा बढी दूध दिने स्थानीय भैंसी पाइँदैन। ३०० दिनमा १४ सयदेखि १५ सय लिटरसम्म दूध दिन्छन्।
भारतबाट चार हजार लिटरभन्दा बढी दूध दिने मुर्रा भैंसीको राँगो ल्याउन खोजिएको हो। भाले ल्याएर वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधान गराउने हो भने त्यसको सन्ततिमा छिटो गुण सर्छ।
उन्नत किसिमको राँगाको आधा गुण बच्चामा सर्छ। कम उत्पादन दिने भैंसीमा उन्नत प्रजातिको राँगोको वीर्य प्रयोग गरियो भने सन्ततिमा बाउ र आमाकै गुण जान्छ। सन्ततिमा २०-३० प्रतिशतले दूध उत्पादन वृद्धि हुन्छ।
गत वर्ष मुर्रा ल्याएका थियौं। त्यसबाट जन्मेका सन्तानले ३८ सय लिटरसम्म दूध दिन्छन्। भारतले अहिले ४२ सय लिटरभन्दा बढी दूध दिने मुर्रा भैंसीको सन्तान पठाउने भनेको छ। किसान र सरकारी कार्यालयले किन्दा महँगो पर्छ। ‘ब्रीडिङ’ पशुको चार-पाँच लाख रुपैयाँभन्दा तल आउँदैन। किसानले पशु सेवा विभागसँग पूर्व स्वीकृति लिनुपर्छ। पशु निरोगी रहेको प्रमाणपत्र हुनुपर्छ। भारतले ‘ब्रीडिङ’ पशुलाई एउटा देशबाट अर्को देशमा लान दिंदैन।
अहिले पनि हामीसँग १२ वटा मुर्रा प्रजातिका राँगा छन्। मुर्राको राँगोको २५ रुपैयाँको राजस्व काटेर वीर्य लग्न पाइन्छ। एक वर्षमा १५ हजारकै कृत्रिम गर्भाधान गराए पनि एउटा राँगोबाट चार-पाँच वर्षसम्म गर्भाधान गराउन सकिन्छ।