अभिलेखमा छुटेको औषधीय गुणयुक्त रातो निगुरो
स्थानीय रूपमा उपलब्ध उन्यु प्रजातिका कतिपय वनस्पति पोषण दिने र आयस्रोतका हिसाबले पनि महत्त्वपूर्ण छन्। त्यसमध्येकै रातो निगुरोको त खेती प्रवर्द्धन गर्न सकिने सम्भावना पनि छ।
केही समयअघि पूर्वी नेपालको यात्रा गरेका वेला महेन्द्र राजमार्ग अन्तर्गत कानेपोखरी-पथरी सडकखण्डमा रातो निगुरो/निउरो बेच्न बसेका व्यक्ति देखेपछि पङ्क्तिकारले ‘यो के हो’ भनी सोधेको थियो। निगुरो बेच्नेहरूले त्यो ‘रातो निगुरो’ वा ‘डौंठे निगुरो’ भएको बताए।
उक्त निगुरो कहाँबाट ल्याएको भनी सोधखोज गर्दा उनीहरूले उत्तरपट्टिको जङ्गलतिर देखाए। पङ्क्तिकार सो स्थानमा पुगेर हेर्दा सो रातो निगुरो उन्युँ वर्गको ‘ब्लेच्नेसी’ परिवार अन्तर्गतको ‘ब्लेच्नम ओरिन्टिया’ भन्ने वनस्पति रहेको थाहा भयो।
यसअघि ‘नेपालमा खाइने गरेको वनस्पतिहरूको परम्परागत प्रयोग’ लेखमा सो प्रजातिको निगुरो खाने गरिएको उल्लेख थिएन। तर त्यहाँका स्थानीयले पहिल्यैदेखि खाने गरेका रहेछन्।
रातो निगुरोको स्वाद अरू निगुरोभन्दा फरक र चखिलो हुने रहेछ। यसको स्वादका पारखीहरू खोजी खोजी खाँदा रहेछन्। पूर्वी नेपालदेखि मध्य नेपालसम्मको क्षेत्रमा रातो निगुरो पाइने वैज्ञानिक अभिलेखहरूमा उल्लेख छ।
नेपालमा ब्लेच्नेसी परिवार अन्तर्गत तीन वटा वनस्पति पाइन्छन्। यो परिवारको रातो मुन्टा हुने अर्को प्रजाति लहरे वनस्पति ‘स्टिनोचेलेना पास्टुलारिस’ पनि पूर्वी नेपालका क्षेत्रहरूमा खाइने गरेको क्रिस्टोफर रोय फ्रेसेर-जेनकिन्स र धनराज कँडेल लिखित फर्न्स एन्ड फर्न्स एलिज अफ नेपाल भाग-२ (सन् २०१९) मा उल्लेख छ।
यसै परिवारको अर्को ‘उडवर्डडिया युनिगिमाटा’ भने नेपालमा खाने गरिएको अभिलेख नपाइए पनि अन्य मुलुकमा खाने गरिएको उल्लेख छ। कानेपोखरी-पथरी सडकखण्डमा निगुरो बेच्नेहरूका अनुसार रातो निगुरो (ब्लेच्नम ओरिन्टिया) चल्तीको हरियो निगुरो जस्तो नबिके पनि केहीले भने खोजी खोजी किन्छन्। मूल्य पनि अन्य निगुरोभन्दा तीनदेखि चार गुणा महँगो पर्छ।
रातो निगुरो नेपाल सहित भारत, चीन, बाङ्लादेश, श्रीलंका, जापान, भियतनाम, कम्बोडिया, मलेशिया लगायत दक्षिण तथा पूर्वी एशियाली मुलुकमा पाइन्छ। इन्डोनेशिया, भियतनाम लगायत मुलुकमा रातो निगुरो हाम्रो तराईमा पाइने हरियो/चिप्ले निगुरो जस्तै खाने चलन छ।
मलेशिया र चीनमा रातो निगुरोका कलिला मुन्टा पानीमा उमालेर तरकारीका रूपमा खाने गरिन्छ। भारत, श्रीलंका, बाङ्लादेशमा भने रातो निगुरोको पातसँगै डाँठ पनि तरकारका रूपमा खाने गरिन्छ।
करीब ३६ करोड वर्ष पहिले उत्पत्ति भएको उन्युँलाई फूल फुल्ने वनस्पतिले छिचोल्दै गए। उन्युँका विश्वभर भएकामध्ये करीब साढे ४ प्रतिशत प्रजाति नेपालमा पाइन्छन्।
इन्डियन जर्नल अफ ट्रेडिसनल नलेजमा प्रकाशित सेन र घोस (सन् २०११) को लेख अनुसार तरकारी बाहेक यो निगुरो आगोले पोलेको घाउमा, पिसाब सम्बन्धी समस्या र टाइफाइड हुँदा औषधिका रूपमा पनि प्रयोग गरिन्छ।
बिएमसी कम्प्लिमेन्ट्री एन्ड अल्टरनेटिभ मेडिसिन जर्नलमा लाई र अरूहरू (सन् २०१०) लिखित लेखमा रातो निगुरोको पातमा प्रशस्त एन्टिक्यान्सर, एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबायल गुण रहेको उल्लेख छ। यसले हानिकारक सूक्ष्म जीवहरूलाई नष्ट गरिदिने एन्टिमाइक्रोबायल औषधिको काम पनि गर्छ।
निगुरो वर्षा याममा जङ्गलबाट सङ्कलन गरेर खाइने स्वादिलो साग/तरकारी हो। निगुरोको हरियो कलिलो पातका मुन्टामा भएको मसिना कत्लालाई सफा गरेर, प्रायः उमालेर नरम भएपछि तरकारीको वा अचारका रूपमा खाने गरिन्छ।
पङ्क्तिकार आफैं र हरिप्रसाद देवकोटा समेतको (सन् २०२१)को लेखमा नेपालमा पाइने ५५० प्रजातिका उन्युँमध्ये २४ प्रजाति खाने गरिएको उल्लेख थियो। तर, सो लेखमा यस रातो उन्युँ उल्लेख थिएन।
रातो उन्युँलाई पनि सो सूचीमा समावेश गर्दा नेपालमा उन्युँका खानयोग्य प्रजातिको संख्या २५ पुग्छ। नेपालमा खाइने उन्युँको प्रजातिमा तराईमा पाइने हरियो/चिप्ले निगुरो, पहाडमा पाइने डौंठे निगुरो लगायत जिब्रे साग, कुथुर्के, मुजुर खुट्टे, पानीधनियाँ, जनैलहरा आदि छन्।
तर, तीमध्ये तराईको निगुरो, पहाडको डौंठे निगुरो र जिब्रे साग प्रचलित उन्युँजन्य तरकारी/साग हुन्। तराईको निगुरो र पहाडको डौंठे एउटै ‘एथिरिएसी’ परिवारका हुन्। तिनीहरूको वैज्ञानिक नाम क्रमशः ‘डिप्लाजियम एस्कुलेनटम’ र ‘डिप्लाजियम म्याक्सिमम’ हो। जिब्रे साग ‘ओफिग्लोसिएसी’ अन्तर्गतको ‘ओफियोग्लोसम रेटिकुलाटम’ हो ।
उन्युँ प्रजाति वनस्पतिहरूको उद्विकास तथा क्रमविकासको महत्त्वपूर्ण आधार हो। करीब ३६ करोड वर्ष पहिले उत्पत्ति भएको उन्युँ कुनै समय विश्वको भूभागमा सबैभन्दा धेरै पाइने वनस्पति थियो। कुनै समय यस धर्तीमा उन्युँका जङ्गल मात्र थिए। कालान्तरमा प्राकृतिक कारणले पृथ्वीको भूबनोट परिवर्तन हुँदा उन्युँका लागि उपयुक्त वातावरण भएन। उन्युँलाई फूल फुल्ने वनस्पतिले छिचोल्दै गए।
आज विश्वमा करीब तीन लाख फूल फुल्ने बिरुवाका प्रजाति पाइन्छन्। उन्युँका करीब १२ हजार प्रजाति मात्रै पाइन्छन्।
नेपाल जैविक विविधताका हिसाबले धनी देश हो। उन्युँका विश्वभर भएकामध्ये करीब साढे चार प्रतिशत प्रजाति नेपालमा पाइन्छन्। नेपालमा भूगोल र समुदायको विविधता अनुसार भिन्न भिन्न समुदायले भिन्न भिन्न वनस्पतिको उपयोग गर्छन्। तर, पछिल्लो समय नेपालमा वनस्पतिको परम्परागत प्रयोग सम्बन्धी अनुसन्धान नहुँदा रातो निगुरो जस्ता थुप्रै वनस्पतिको प्रयोग सम्बन्धी अभिलेख तयार हुन सकेको छैन।
स्थानीय रूपमा उपलब्ध यस्ता कतिपय वनस्पति पोषण दिने र आयस्रोतका हिसाबले पनि महत्त्वपूर्ण छन्। रातो निगुरो जस्ता महत्त्वपूर्ण वनस्पतिको त खेती प्रवर्द्धन गर्न सकिने सम्भावना पनि देखिन्छ।
(लेखक वनस्पतिशास्त्री हुन्।)