इजलासमा न्यायाधीशले सोधे- मन्त्रीज्यूको त्यो गिफ्ट चाहिं के रहेछ?
नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दामा चलिरहेको थुनछेकको बहसका क्रममा मन्त्रीलाई ‘गिफ्ट’ दिने प्रसङ्ग आएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीशले इजलासमा सोधे– मन्त्रीज्यूको त्यो गिफ्ट चाहिं के रहेछ?
इजलासको पछाडिबाट दोस्रो बेन्चमा लहरै बसेका थिए, राज्यका पूर्व उच्चपदस्थ व्यक्तिहरू क्रमशः पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सांसद आङटावा शेर्पा। खाजापानीको बिसौनीपछि पछिल्लो बेन्चमा बसिरहेका नेपाल सरकारका सचिव टेकबहादुर पाण्डे पनि रायमाझी, खाण बसेकै लहरमा मिसिए।
राज्यसंयन्त्रको महत्त्वपूर्ण पदमा पुगिसकेका यी ‘हाईप्रोफाइल’ पाँच सहित १८ जनालाई लगाइएको अभियोगबारे काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपकप्रसाद न्यौपानेको इजलासमा प्रारम्भिक बहस भइरहेको छ। उनीहरूलाई ठगी, संगठित अपराध, राज्य विरुद्धको कसूर, लिखत कीर्ते र एकीकृत कसूरको अभियोग लगाइएको छ।
उनीहरूलाई थुनामा पठाएर मुद्दाको सुनुवाइ गर्ने कि धरौटी वा तारेखमा छोडेर भन्नेमा थुनछेक बहस जेठ २१ गतेदेखि शुरू भएको हो। दिनभरिजसो यो इजलासमा भीड थियो। पछिल्लो दुई लहर १८ जना प्रतिवादीले भरिएको थियो।
प्रहरीले मुद्दाका सरोकारवाला वकील, सीमित सञ्चारकर्मी बाहेकलाई इजलासमा छिर्न दिएको थिएन। सुरक्षाकर्मीले रोकेका स्थान बाहिर पनि उत्तिकै भीड थियो, जुन भीड दिन ढल्किँदै गएपछि मात्र पातलियो।
पहिलो दिन दुई जना सरकारी वकीलले मात्र बहस गरे, जिल्ला न्यायाधिवक्ताद्वय महेप्रसाद खत्री र जनकप्रसाद घिमिरेले। दुवैले बहसका क्रममा अभियोगपत्रका सम्पूर्ण विवरण पढ्दा न्यायाधीश न्यौपाने पटक पटक ‘मलाई कण्ठै भइसक्यो भन्दै’ नदोहोर्याउन भन्थे। ‘श्रीमान्लाई व्याख्या गर्न सजिलोका लागि’ भन्दै उनीहरू भरसक मसिनो गरी बहस गर्न खोज्थे।
सरकारी वकील घिमिरेले सचिव पाण्डे र योजनाकार तथा बिचौलियाका भूमिकामा रहेका भनिएका केशवप्रसाद दुलालबीच मोबाइलमा भेटिएको संवाद सुनाइरहेका थिए। न्यायाधीश न्यौपानेले ‘मैले पढिसकें’ भन्दै अगाडि बढ्न भने। तर, घिमिरेले निर्णयकर्ताका लागि सजिलो हुने भन्दै पढी नै रहे।
यत्तिकैमा घिमिरेले सचिव पाण्डेले दुलाललाई पठाएको सन्देश पढेर सुनाए, “मन्त्रीजीको गिफ्ट रेडी भएन?”
न्यायाधीश न्यौपाने एकछिन अडिएर सोधे, “मन्त्रीज्यूको त्यो गिफ्ट चाहिं के रहेछ?”
दुलालको सन्देश घिमिरेले उद्धृत गरे, “सचिवको मेसेजमै छ श्रीमान्, फाइनान्सियल एरेन्जमेन्ट।”
अभियोगपत्रमा सचिव पाण्डेले दुलाललाई २०७९ जेठ १७ गते ‘मन्त्रीज्यूको सामान रेडी भएन’ भनी मेसेज गरेको उल्लेख छ। ‘भोलि रेडी हुन्छ जस्तो छ, हजुर’ भनेर केशवले भनेपछि सचिव पाण्डेले ‘त्यसो भए मन्त्रीज्यूलाई भेटाउँछु’ भनेर वचन दिएको अभियोगपत्रमा उल्लेख छ। अभियोगपत्र अनुसार लगत्तै केशव सचिव पाण्डेलाई लेख्छन्, ‘भोलि फाइनान्सियल एरेन्ज भएपछि हजुर मार्फत मन्त्रीलाई भेट्ने हो।’
अभियोगपत्रमा पर्सिपल्ट केशवले ‘गिफ्ट रेडी भएको’ भन्दै सचिव पाण्डेलाई सन्देश पठाए र पाण्डेकै कार्यकक्षमा एक करोड २४ लाख रुपैयाँ टक्र्याए। यसैलाई बहसका क्रममा घिमिरेले पूर्व गृहमन्त्री खाणको उपहार रकम भएको प्रस्टीकरण दिएका हुन्।
पाण्डे र दुलालबीचको संवाद घिमिरेले पढेर सुनाउँदा निलम्बित सचिव पाण्डेको अनुहार रातोपिरो बनेको थियो। न्यायाधीश न्यौपानेले बीच बीचमा ‘टेकनारायणजीको संवाद होइन?’ भनेर सोध्दा उनी झन् मलिन देखिन्थे र पल्याकपुलुक यताउता हेरेर सम्हालिन खोज्थे।
न्यायाधीशले मुद्दाको मूल विषय मन्त्रिपरिषद्मा रहेको प्रतिवेदन र गृह मन्त्रालयमा रहेको प्रतिवेदन कसरी फरक भयो र हस्ताक्षर एउटै कसरी भयो भनेर सोधे। घिमिरेले जवाफ दिए, “अहिले प्रविधिको विकास यस्तो छ, दुरुस्तै आइहाल्छ नि श्रीमान्।”
“हस्ताक्षर सक्कली कि नक्कली भनेर हेर्नुपर्ला नि?” न्यायाधीश न्यौपानेले यस्तो जिज्ञासा राख्दा भने घिमिरे नाजवाफ बनेका थिए। मिसिलमा हस्ताक्षर परीक्षण गरिएको कागजात नभएको न्यायाधीशले औंल्याएका थिए।
दुवै सरकारी वकीलले पूर्व उपप्रधानमन्त्री टोपबहादुरका छोरा सन्दीप रायमाझीले दुई पटक गरेर अर्का बिचौलिया सानु भण्डारी मार्फत ४० लाख रुपैयाँ लिएको चेक बरामद भएको बताए। सन्दीपले प्रहरी र अदालत दुवै ठाउँमा दिएको बयानमा उक्त रकम भण्डारीसँग साझेदारीमा चलाएको लियोन ट्रेडर्सको कारोबार रहेको दाबी गरेका थिए।
तर, उक्त कम्पनीमा यी दुवैको साझेदारी नभएको कम्पनी रजिस्ट्रार कार्यालयले पठाएको पत्रमा रहेको जिल्ला न्यायाधिवक्ता खत्रीले बहसका क्रममा जिकिर गरे। “वासलातमा कहीं पनि यो कारोबार खुल्दैन,” उनले भने, “त्यसैले यो रकम नक्कली भुटानी शरणार्थी प्रकरण मार्फत आदानप्रदान भएको खुल्न आउँछ।”
तत्कालीन गृहमन्त्री रामबहादुर थापाको कार्यकालभरि सुरक्षा सल्लाहकार बनेका इन्द्रजीत राईले सोही अवधिमा करोडौंका घरजग्गा जोडेको तथ्य बहसका क्रममा उठेको थियो। अभियोग अनुसार उनको ब्यांक खातामा समेत तीन करोड ४५ लाख ५३ हजार रुपैयाँ जम्मा भएको देखिन्छ। श्रीमतीको नाममा तीन ठाउँमा जग्गा र घर पनि जोडेका छन्। यसबारे सरकारी वकीलले तथ्य प्रस्तुत गर्दा पनि राईको अनुहारमा भाव बदलिएको थिएन।
बहसभरि प्रायः उनी दुवै हात छातीमा बाँधेर बसिरहे। जिल्ला प्रहरी परिसर काठाडौंका एक अनुसन्धान अधिकृतका अनुसार राई यस्तो अभियुक्त हुन्, जो बयानका क्रममा समेत एकदमै थोरै बोले, बिरामीको बहाना बनाएर। कतिसम्म भने अन्य अभियुक्तले तथानाम गाली गर्दै आफूहरूलाई राईले नै फसाएको बताउँदा पनि उनको अनुहारमा अलिकति पनि आक्रोशको भाव नदेखिएको ती अधिकारी सुनाउँछन्।
“राईलाई अन्य अभियुक्तले गाली गरेको सुनेर हाम्रो दिमाग रिसले टनटन हुन्थ्यो,” उनी भन्छन्, “तर, राई ‘उहाँहरूले भनेर के गर्नु’ भन्दै सहज उत्तर दिन्थे।” राईको त्यो भावभङ्गी इजलासमा पनि उस्तै रह्यो।
जेठ १० गते १६ जना पक्राउ परेका र १४ जना फरार अभियुक्त करार गर्दै मुद्दा दायर गरिएको हो। टोपबहादुर रायमाझी, इन्द्रजीत राई, बालकृष्ण खाण, टेकनारायण पाण्डे गिरोहको निर्णयकर्ता तथा योजनाकार, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका योजनाकार तथा बिचौलिया रहेको आरोप छ। बिचौलिया र योजनाकार भण्डारी र दुलालले तल्लो तहमा सञ्जाल विस्तार गरेको अभियोग छ।
नेपालीलाई भुटानी शरणार्थीको भेषमा अमेरिका पठाउने भन्दै संगठित र योजनाबद्ध रूपमा मोटो रकम असुलेको भन्दै उनीहरू विरुद्ध पाँच वटा कसूर लागेको छ। अधिकांशले प्रहरी र अदालतमा आरोप अस्वीकर गर्दै बयान दिएका छन्। तर, ब्यांकिङ कारोबार, मोबाइलमा भेटिएका संवाद, सन्देश आदानप्रदान, अडिओ रेकर्डबाट उनीहरूको अभियोग पुष्टि हुने सरकारी वकीलहरूले बहसका क्रममा बताइरहेका छन्।
अधिकांश बिचौलिया र उनीहरूका लागि काम गरेकाहरूले आफू समेत पीडित भएको बताएका छन्। न्यायाधीश न्यौपानेले पनि आफ्नो राष्ट्रियता र पहिचान बदलेर बेचिन तयार भएकालाई किन कसूर नलगाएको भन्दै प्रश्न सोधेका थिए।
सरकारी वकील घिमिरेले संगठित अपराधको प्रकृति नै ‘पीडितलाई प्रलोभनमा पारेर सहमति लिने’ त्यस बापत आर्थिक लाभ लिने खालको हुने भन्दै बचाउ गरेका थिए। “अपराधको विशेषता नै पीडितलाई गैरकानूनी भनेर जानीजानी फाइदा हुन्छ भनेर प्रलोभनमा पार्ने हो, श्रीमान्,” उनले तर्क गरे, “यस बापत केशव दुलाल लगायतले रकम प्राप्त गरे र त्यो माथिसम्म बाँडफाँड भयो।”
जेठ अन्तिमसम्म थुनछेक बहस सकिने अनुमान छ। पहिलो दिन बहस गरेका दुई जना सरकारी वकीलमध्ये घिमिरेले सोमबार पनि बाँकी बहस गर्दै छन्। आठ जना सरकारी वकीलले बहस गर्न वकालतनामा लेखाएका छन्। यस बाहेक स्वागत नेपाल लगायतका अधिवक्ताले पीडितका तर्फबाट बहस गर्ने भएका छन्।
प्रतिवादीका तर्फबाट पनि वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ताहरूले बहस गर्न नाम टिपाएका छन्। पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाण र निलम्बित सचिव पाण्डेको प्रतिरक्षामा पूर्व महान्यायाधिवक्ताहरू रमेश बडाल, खम्मबहादुर खाती र रमनकुमार श्रेष्ठले बहस गर्न वकालतनामा लिएका छन्।
यस बाहेक राजनीतिक रूपमा नजिकका वरिष्ठ अधिवक्ताहरू पनि बहसमा उभिनेछन्। जसले गर्दा थुनछेकको बहस नै लामो हुन सक्छ। सम्भवतः यस्तै छनक पाएकाले न्यायाधीश न्यौपाने विषयवस्तु नदोहोर्याउन बहसकर्तासँग बारम्बार भनिरहेका छन्।
नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दामा दोस्रो दिन सोमबार जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस शुरू भएको छ।