नेपाली ट्राभल कम्पनी ‘ह्याक’, करोडौं नोक्सान
ह्याकरले देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभल लगायत कम्पनीलाई करोडौं नोक्सानी पुर्याएका छन्। ह्याकरले प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट जारी गरेको देखिएको छ।
ग्लोबल डिस्ट्रिब्यूशन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन्। विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेको हो।
ह्याकरले देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभल लगायत कम्पनीलाई करोडौं नोक्सानी पुर्याएका छन्। ह्याकरले प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट जारी गरेको देखिएको छ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले घटना सार्वजनिक भएपछि नेपाल ट्राभल कम्पनी त्रसित भएको बताए। “ह्याकरले जीडीएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्,” उनले भने।
ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताए। पीडित ट्राभल कम्पनीले भने साइबर ब्यूरोमा मुद्दा हालिसकेका छन्।
नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जीडीएस सेवा प्रदान गर्दै आएका छन्। नेपालका ट्राभल कम्पनीलाई जीडीएस सेवा प्रदान गर्दै आएको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले ह्याकरले जीडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताइन्।
उनले जीडीएस कम्पनी मार्फत आएका मेललाई ट्राभल कम्पनीले पासवर्ड र युजरनेम शेयर गर्नु अगाडि त्यो इमेल आधिकारिक निकायबाट आएको हो कि होइन भन्ने निश्चित गर्न आग्रह गरेकी छिन्। - रासस