अखण्ड भारतको नक्शामा नेपालको भूभाग समेटिएको जानकारी छैन: परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री एनपी साउदले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ को भित्तेचित्रबारे सरकारलाई जानकारी नभएको बताएका छन्।
भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। उक्त भित्तेचित्रलाई लिएर देशभर विरोध भइरहँदा परराष्ट्र मन्त्री एनपी साउदले भने नेपाल सरकारलाई यसबारे जानकारी नै नभएको बताएका छन्।
भारतीय सञ्चारमाध्यम आजतककी पत्रकारले ‘नेपालको भूभाग पनि समेटिएको अखण्ड भारतको भित्तेचित्र भारतीय संसद् भवनमा राखिएको छ। अखण्ड भारतले नेपालको सार्वभौमसत्तालाई हनन गर्ने भन्दै विरोध पनि भइरहेको छ। यसबारे थुप्रै नेताले नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग यो मुद्दा उठाउनुपर्ने भनेका थिए। के यो मुद्दा उठ्यो? उठेन भने पनि यसमा नेपालको धारणा के छ’ भनेर प्रश्न गरेकी थिइन्।
जवाफमा मन्त्री साउदले भित्तेचित्रबारे आफू (सरकार)लाई थाहा नभएको बताए। “हेर्नुस्, यो मुराल (भित्तेचित्र)को कुरा हामीलाई जानकारी छैन। र, जुन कुरा हाम्रो जानकारीमा छैन, त्यसबारे भारतले नै आफ्नातर्फबाट बोल्छ,” उनले भने।
मन्त्री साउदले ‘२५ सय वर्ष अगाडिको गणराज्यहरूको नाम’ र ‘फेसबूक मार्फत आएको’ भन्दै यो मुद्दा उठाउन नेपालका लागि आवश्यक नभएको पनि बताए। “यो मुद्दा उठाउन नेपालका लागि आवश्यक छैन। यो सिमानाको कुरा पनि होइन। आजभन्दा २५ सय वर्ष अगाडिको गणराज्यहरूको नाम अङ्कित भएर फेसबूकमा आएको हो। र, यसबारे हाम्रो केही कुरा भएन,” उनले भने।
“त्यसो भए यसलाई लिएर गम्भीर हुनुपर्ने आवश्यकता छैन?” भारतीय पत्रकारले पुनः सोधिन्।
“जसको बारेमा कुरै भएन, मैले के भनूँ,” मन्त्री साउदले जवाफ दिए।
परराष्ट्र मन्त्रीको यस्तो अभिव्यक्तिलाई लिएर अहिले व्यापक आलोचना भइरहेको छ। इतिहासविद्हरू ‘अखण्ड भारत’ हुँदै नभएको अवधारणा रहेको बताउँछन्।