जलेश्वर नगरपालिकामा कित्ताकाट खुला
जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गा सम्बन्धी काम गर्न पाउने भएका छन्।
जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ। आइतबार पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिए।
भू–उपयोग नियमावली, २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले सो काम सम्पन्न गरेको हो। नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ तीन हजार १३५ दशमलव ८९ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ ७५ दशमलव ३४ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ आठ दशमलव ४७ हेक्टर, नदीजन्य/पोखरी क्षेत्रतर्फ १०६ दशमलव २७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७ दशमलव २६ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १७६ दशमलव ११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३ दशमलव ३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो।
नगरपालिकाले वर्गीकरण गरेको जग्गा जम्मा ६२ हजार कित्ता रहेको र आइतबारदेखि सबै जग्गाको कित्ताकाट खुला भएको उनले बताए। जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनीयर पवनकुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिएका थिए।
जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गा सम्बन्धी काम गर्न पाउने भएका छन्।