समलिङ्गी छोरालाई साथ दिन ‘प्राइड परेड’ मा आमा
कोही इन्द्रेणी रङको झन्डा बोकेर, कोही रङ्गीन कपडा पहिरिएर त अनुहारमा झन्डाको पेन्टिङ बनाएर आइतबार पोखराको फेवाताल छेउ भेला भए। उनीहरू झन्डा बोकेरै नाच्दै थिए।
पारलैङ्गिक समुदायका नागरिक अंग्रेजी पात्रोको जून महीनामा यसरी नै भेला हुने गर्छन्। विश्वभर नै जून महीनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महीना’ का रूपमा पारलैङ्गिक समुदायले मनाउने गर्छन्।
जुन महीनालाई ‘गौरव महीना’ नाम दिएर पारलैङ्गिक समुदायले आफ्नो पहिचानलाई उत्सवका रूपमा मनाउने गर्छन्। समुदायले आफ्नो अधिकार प्राप्तिको वकालतका लागि पनि विश्वभर नै यस महीनालाई विशेष तरीकाले मनाउँछन्।
फेवाताल छेउ भेला भएका पारलैङ्गिक समुदायबीच पुगेकी थिइन् सुकुन्धरा सुनार। रङ्गीन झन्डा बोकेर उनी पनि त्यही हुलमा रमाउँदै थिइन्। सुकुन्धरा आफैं पारलैङ्गिक समुदायमा पर्दिनन्, तर उनी आफ्नो छोरालाई साथ दिन ‘प्राइड परेड’ मा आइपुगेकी थिइन्।
कास्की रूपा गाउँपालिकाबाट र्यालीमा सहभागी हुन आइपुगेकी सुकुन्धराका २२ वर्षीय छोरा एभिन गहतराज समलिङ्गी पुरुष हुन्। १६ वर्षको हुँदा नै घरमा उनले आफू समलिङ्गी भएको खुलाएका थिए।
शुरूमा सुकुन्धरा र उनको परिवारलाई छोराबारे बुझ्न गाह्रो भयो। “छोराको मायाले नै आफूले छोराको पहिचानलाई स्वीकार गरेर साथ दिएका हौं,” हँसिलो मुद्रामा सुकुन्धराले भनिन्। शुरूमा समाजमा निकै समस्या परिवारले पनि भोग्नुपर्यो, तर समयसँगै अहिले सहज वातावरण रहेको उनले बताइन्।
एभिन भने यति वेला अमेरिकामा छन्। छोराले गौरवको र्यालीबारे बताएपछि उनी आफ्नी छोरीसँग आएकी थिइन्। छोरी खुश्बु सुनारले पनि दाइसँगै अरू पारलैङ्गिक समुदायका व्यक्तिलाई साथ दिन आफू आइपुगेको बताइन्।
पछिल्लो समय नेपालमा पनि पारलैङ्गिक समुदायले गौरवको महीनामा विविध कार्यक्रम गरी उल्लासपूर्वक मनाउन थालेका छन्। त्यसै अन्तर्गत पारलैङ्गिक समुदायले नेपालमा यस वर्षको पहिलो ‘प्राइड परेड’ अर्थात् गौरवको र्याली निकालेका हुन्।
निलहिरा समाजको अगुवाइ तथा नौलो बिहानी पोखराको संयोजनमा निस्किएको र्याली अब जून महीनाभरि देशका अन्य ठाउँमा पनि निकालिने निलहिरा समाजकी वकालत अधिकृत एन्जल लामाले बताइन्। उनले गौरवको महीना पारलैङ्गिक समुदायले आफ्नो पहिचान देखाउने तथा प्राप्त गरेको उपलब्धिप्रति गर्व गर्ने महीना भएको सुनाइन्।